साउन्डमा ‘साम्बाला’लाई आदर्श मानेर काम गर
सामान्यतया चलचित्रमा करिब ४० देखि ६० प्रतिशत भूमिका साउन्डको हुन्छ । प्रतिशतको यो हिस्साले चलचित्रमा साउन्डको भूमिका कति अहं हुन्छ भन्ने जनाउँछ ।
यति धेरै महत्व राख्ने साउन्डलाई नजरअन्दाज गर्ने हो भने चलचित्र कस्ता बन्छन् ? सुन्दा अलि रुखो सुनिएला । तर भन्दा अतिउक्ति हुँदैन, नेपाली सिनेमाजस्ता भन्न । एकाध चलचित्रलाई छोडेर हेर्ने हो भने नेपाली चलचित्रले साउन्डलाई त्यति धेरै महत्व दिँदैनन् । यो सत्य कसैबाट छिपेको छैन ।
विश्वास लाग्दैन भने एक महिना हलमा गएर नेपाली सिनेमाको साउन्डको नाडी छामे हुन्छ । होइन त्यति पनि दुःख र खर्च नगर्ने हो भने युट्युबमा उपलब्ध नेपाली चलचित्र हेरे हुन्छ ।
जिब्रो नचपाई प्रष्ट भन्ने हो भने नेपाली चलचित्र साउन्डमा कमजोर हुन्छन् । ब्याकग्राउण्ड स्कोर त झन परको कुरा भयो ।
सिंक साउन्डसम्म गर्न नसक्ने अथवा झण्जट मान्ने निर्देशक तथा निर्माताले साउन्डको क्वालिटीमा कति ध्यान दिन्छन् होला ? कति बजेट खर्चिन्छन् होला ? यसमा धेरै अध्ययन तथा खोज गर्नैपर्दैन । सामान्य अनुमान लगाए मात्रै पुग्छ ।
सिनेमा हुन् कि रेडियो नाटक छुट्याउन नसक्ने हुन्छन् नेपाली चलचित्र । अर्थात् डाइलगकै भरमा चलचित्र निर्माण हुन्छन् । तर त्यही साउन्ड र ब्याकग्राउन्ड स्कोरमा भने न पर्याप्त लगानी हुन्छ न मेहनत ।
कलाकार र निर्देशकको पारिश्रमिक बढ्यो, स्क्रिप्ट राइटरले राम्रै रकम डिमान्ड गर्न थाले । सिनेमेटोग्राफर, लाइट र स्पटव्याईको पारिश्रमिक बढ्यो । तर साउन्डमा अपबादबाहेक लगानी बढेको छैन । अझै पनि करिब करिब दुई÷तीन लाख रुपैयाँमै साउन्डको काम गरिन्छ । जबकी ठूला चलचित्र उद्योगमा कम्तीमा चलचित्रको लगानीको करिब १० प्रतिशत लगानी साउन्डमा हुन्छ । ब्याकग्राउन्ड स्कोरमा हुन्छ ।
भलै अपबादमा केही राम्रो काम भने हुन सुरु भएको छ । केही मेकरले तीन करोडमा बन्ने चलचित्रमा लगानी दुई लाखबाट बढाएर आठदेखि दश लाख रुपैयाँ पुर्याएका छन् ।
यसलाई बादलबीचमा चाँदीको घेरा देखिन थालेको संकेतका रूपमा लिन सकिन्छ । पछिल्ला दुईवटा चलचित्रलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । ‘गाउँ आएको बाटो’ र ‘साम्बाला’ । यी चलचित्रले साउन्डमा गज्जव मेहनत गरेका छन् । यी दुईमा पनि अझ धेरै ‘साम्बाला’मा साउन्डमा मेहनत छ । तर यो सिनेमा आफैँमा बिग बजेट (साढे १४ करोड रुपैयाँ)मा बनेको चलचित्र हो ।
‘साम्बाला’मा साउन्ड र ब्याकग्राउन्ड स्कोर गज्जवको छ । यसकै लागि मात्रै भए पनि यो चलचित्र दोहोर्याएर हेरौँ हेरौँ लाग्छ ।
यो चलचित्रलाई नेपाली निर्देशक र निर्माताले आइडल (आदर्श) मानेर काम गरे हुन्छ । हरेक निर्माता र निर्देशकले आफ्नो चलचित्र बनाउँदा यसको साउन्ड र ब्याकग्राउन्ड स्कोरलाई अगाडि राखेर म पनि यस्तै राम्रो काम साउन्डमा गर्छु भन्ने उद्देश्य राखे मात्रै पनि धेरै काम हुन्छ ।
होइन, महंगो पारिश्रमिक तिरेर कलाकारलाई क्यामेरा अगाडि उभ्याए मात्रै चलचित्र बन्छ भन्ने हो भने त्यो बेग्लै कुरा हो । तर सत्य चाहिँ यो हो साउन्डलाई मेकरले नजरअन्दाज गर्ने हो भने दर्शकले पनि उनीहरूका चलचित्र हेर्न नजरअन्दाज गरिदिन्छन् । यो सत्यलाई मनन गर्ने हो भने धेरै हदसम्म मेकरलाई जिम्मेवार र मेहनती बनाउन सक्छ ।