karsang
Close Me

९७औँ अस्कर अवार्डमा नेपालबाट ‘साम्बाला’

काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालबाट चलचित्र ‘साम्बाला’ छनोट भएको छ ।

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले विज्ञप्ति जारी गर्दै ‘साम्बाला’लाई नेपालबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सिफारिस गरिएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अनुसार यसवर्ष अस्कर प्रतिस्पर्धाका लागि ‘साम्बाला’ले मात्रै आवेदन दिएको थियो । अन्य चलचित्रले आवेदन नदिँदा ‘साम्बाला’लाई छनोटका लागि थप सहज भयो ।

“चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक बुनोटलाई ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो । नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

मिनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘साम्बाला’ अहिले दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । चलचित्रमा थिन्ले ल्याह्मो मुख्य भूमिकामा छिन् ।