‘खुस्मा’लाई मिल्यो दर्शकको साथ

काठमाडौं । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले तेस्रो दिनसम्म आइपुग्दा अत्यधिक दर्शकको साथ पाएको छ।
प्रर्दशनको पहिलो दिन नै हाउसफूल शो प्रदर्शन भएको सिनेमाले शुक्रबार र शनिबार थप दर्शककाे साथ पाएकाे हो । वितरक गोविन्द शाहीका अनुसार राजधानीका मल्टिप्लेक्स हलहरूका साथै पोखरा, नारायणगढ, बुटवल, धरान, इटहरीलगायत ठूला शहरहरूमा पनि ‘खुस्मा’ले हाउसफूल व्यापार गरेको छ।
चलचित्रका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीले विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । दर्शकले उनीहरूको अभिनयको प्रशंसा गरिरहेका छन् । विशेष गरी सशस्त्र द्वन्द्वकालको कथामा आधारित सिनेमाले दर्शकको मन छोएको बताइन्छ । ‘खुस्मा’को प्रमुख गीत ‘रुकुम मैकोट’ युट्युबमा ट्रेन्डिङमा छ, जसले चलचित्रप्रतिको चासो अझै बढाएको हो ।

निर्माण पक्षका अनुसार, शनिबार ३०० शो पाएको चलचित्रले आइतबार पनि २०० भन्दा बढी शो पाएको छ । दर्शकबाट मिलेको उत्कृष्ट ‘वर्ड अफ माउथ’ले ‘खुस्मा’लाई अझै राम्रो व्यापारिक सफलता दिलाउने विश्वास निर्माण पक्षको छ ।
जनयुद्धको प्रभावको बीचमा अंकुरिएको प्रेमकथालाई पर्दामा उतारिएको ‘खुस्मा’मा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको लेखन र निर्देशन अशोक थापा मगरले गरेका हुन् । यसअघि विभिन्न अन्तर्राष्ट्रिय डकुमेन्ट्री महोत्सवहरूमा पुरस्कार जितिसकेका थापा मगरको यो पहिलो ठूला पर्दाको सिनेमा हो ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
