karsang
Close Me

काठमाडौंबासीलाई सिनेमा हेर्ने बानी बसाउने हल, जुन राजा महेन्द्र र रत्नको डेटिङस्पट थियो

काठमाडौं । काठमाडौंबासीलाई सिनेमा हेर्ने बानी बसाउने हल हो, जय नेपाल सिनेमा हल । काठमाडौंको मुटुमा हुनु र सुरुसुरुवातको हल भएकाले काठमाडौंबासीलाई सिनेमा हेर्ने बानी बसाउने श्रेय यो हलले पाएको थियो ।

यो सिनेमा हल २००९ सालमा स्थापना भएको हो । २०४२ सालदेखि र क्यूएफएक्सले व्यवस्थापनको जिम्मा २०५५ सालपछि मात्रै लिएको थियो ।

सञ्चालनमा रहँदा एउटा मात्रै पर्दा रहेको जय नेपाल सिनेमा हल काठमाडौंको मुटु नारायणहिटी दरबारको पूर्वपट्टी हात्तिसारमा रहेको छ । यो हल ३ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको छ ।

त्योभन्दा पनि यो हलसँग जोडिएको अर्को तथ्य छ, जुन निकै रोचक मात्रै होइन ऐतिहासिक पनि छ । तत्कालीन राजा महेन्द्र र रत्नराज्यलक्ष्मीले यो हललाई ‘डेटिङ स्पट’ बनाएका थिए ।

पहिलो श्रीमती इन्द्रराज्यलक्ष्मी शाहको निधन भएपछि उनकी बहिनी रत्नसँग नजिकिएका महेन्द्र उनलाई लिएर जय नेपाल हल पुग्थे सिनेमा हेर्न ।

पञ्चायतकालका राजा त्यसमा पनि महेन्द्र, उनको सानसौकत नै बेग्लै थियो । राजा आउने भएपछि हल सञ्चालकलाई पहिला नै खबर हुन्थ्यो । राज्यले सुरक्षा व्यवस्था कडा पार्थ्यो । दरबारले भनेको समयका लागि ‘स्पेसल शो’ राखिन्थ्यो ।

पछि उनीहरूको विवाह भयो । राजा महेन्द्र जय नेपाल हलमा सिनेमा हेर्न आउँदा उनले लगाएको अत्तरले हलमा एक हप्तासम्म मगमग बास्ना आउँथ्यो ।

महेन्द्रसँग दरबारका सदस्य र भारदारहरू पनि सँगै सिनेमा हेर्न आउँथे ।

पछि दरबारमा नै सिनेमा हल बनाएर प्रोजेक्टरको व्यवस्था गरेपछि राजाहरू हल आउन छोडे । तर, जय नेपालमा आएका चलचित्रहरू नै दरबार पठाइन्थ्यो ।

महेन्द्रको निधनपछि वीरेन्द्र राजा भए । उनी भने जय नेपालबाट सिनेमा मगाएर दरबारमै बसेर हेर्थे ।

परिवार बसेर सिनेमा हेर्ने भनेपछि दरबारबाट मान्छेहरू जय नेपाल आउँथे चलचित्र लिन । जय नेपालका प्राविधिक चलचित्रसहित दबार गएर चलचित्र लगाइदिन्थे ।

कालान्तरमा त्यही जय नेपाल सिनेमा हल बन्द भयो । कोभिड–१९ को महामारीमा सिनेमा बनेनन् । बनेका सिनेमा पनि चलेनन् । ५० जना कर्मचारी, महिनाको ३० लाख रुपैयाँ सञ्चालन खर्च धान्न नसकेपछि वि.सं. २००९ सालमा दरबारमार्गमा ६० आना जग्गामा निर्माण भएको ‘जय नेपाल’ सिनेमा हल बन्द भयो ।

जय नेपाल सिनेमा हलमा दैनिक चार शो चलाएर हाउसफुल हुँदा दैनिक १२ लाखसम्म पैसा कलेक्सन हुने गरेको यसका सञ्चालक निर्मल प्रधान बताउँछन् ।

यो हलले काठमाडौं महानगरपालिकालाई ९० लाख भन्दा बढी रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ । हाल सम्म बन्द रहेको यो हललाई चलचित्र निर्माता तथा वितरक सुनिल मानन्धरले पुनः निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

यो बक्यौता रकम चुक्ता गरेर मानन्धर र केही व्यापारीहरूको लगानीमा हल फेरि सञ्चालनमा ल्याउन लागिएको बुझिएको छ । 

हल परिसरमा  काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने भन्दै डोजर समेत चलाएको थियो । तर, अहिले यो विवाद केही पनि नरहेको र जग्गा भाडामा लिएर २० वर्षसम्म क्यूएफएक्सको नाममा चलेको यो हल अब भने ‘जय नेपाल’को नाममा सञ्चालनमा आउने उनीहरूको भनाइ रहेको छ ।