सुकुम्बासी जीवनशैलीलाई केन्द्रमा राख्दै भावनात्मक कथामा ‘आँखा’को ट्रेलर

काठमाडौं । असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’को रिलिजको पाँच दिन अघि मात्रै ट्रेलर सार्वजनिक भएको छ।

लामा सिनेमाजको ब्यानरमा निर्माण गरिएको चलचित्रको आइतबार झन्डै साढे दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले कलात्मक र भावनात्मक शैलीमा कथा प्रस्तुत गर्ने प्रयास गरेको छ।

चलचित्रको कथालाई संक्षिप्त रूपमा प्रस्तुत गर्दै दृश्य र भावनालाई जोड दिने प्रयास गरेको ट्रेलरले सुकुम्बासी बस्तीको जीवनशैली, संघर्ष र यथार्थलाई कथावस्तु बनाएको छ।

चलचित्रका प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहतालाई विशेष स्थान दिइएको ट्रेलरले बागमती नदी किनारमा बसोबास गर्ने एक सम्पत्तिविहीन दम्पतीको जीवनयापनका लागि गरिने कठोर परिश्रम र तिनले भोग्नुपर्ने चुनौतीहरूको कथा चित्रण गरेको छ।

चलचित्रमा स्मिता र आरकेसँगै विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई को समेत अभिनय देख्न सकिन्छ।

चलचित्रको कथा, पटकथा लेखन तथा सम्पादन निर्देशक जौन योन्जनले गरेका हुन् भने कार्यकारी निर्माताको भूमिकामा नारायणप्रसाद बराल रहेका छन्।

आलोक शुक्लाले छायांकन गरेको चलचित्रको संगीतको जिम्मेवारी दीपक आरजे र जयन जे वाइबाले लिएका छन्।

यो चलचित्रलाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो।