दोहोरीलाई फोहोरी बनाउनेलाई कारबाही गर

१३ जेठमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले एउटा विज्ञप्ति जारी गर्दै लोकदोहोरीलाई अपाच्य शैलीमा प्रस्तुतिकरण नगर्न सुझाव दियो । केही युट्युब च्यानलले लाइभ लोकदोहोरीका नाममा अपाच्य शैलीमा दोहोरी प्रस्तुत गरेको भन्दै प्रतिष्ठानले आफ्नो ध्यानाकर्षण भएको जनायो । दोहोरीको मूल्य र मान्यतामा नै आँच आउनेगरी दोहोरी प्रस्तुत नगर्न प्रतिष्ठानले चेतावनी नै दिएको छ ।

सम्बन्धित व्यक्तिको ध्यानाकर्षण नभए प्रतिष्ठानले दिँदै आएको सेवासुविधा नदिने र साधारण सदस्यता नै खारेज गरिदिनेसम्मको चेतावनी प्रतिष्ठानले दिएको छ ।

तीन÷चार वर्षयता दोहोरीमा देखिएको विचलन कम भएको थियो । दोहोरीमा प्रयोग हुने असव्य र अपाच्य शब्द कम भएका थिए । भड्किला र बिकाउ भिडियो निर्माणमा पनि कमी आएको थियो । दोहोरी भड्किला भएको प्रश्न आए प्रतिष्ठान स्वयंले त्यसको खण्डन गर्दै आएको थियो । तर पछिल्लो केही समययता त्यही प्रतिष्ठानले नै सदस्यता नै खारेज गरिदिनेसम्मको धम्की दिँदै विज्ञप्ति निकाल्नुपर्ने अवस्था सिर्जना भयो ।

लोकदोहोरी नेपाली कला, संस्कृति, सभ्यता र समाजको ऐना हो । नेपाली समाजको चिनारी र पहिचान हो । यसमा नेपाली माटोको स्वाद आउनुपर्छ । नेपाली मौलिक जनजीवनको सुगन्ध आउनुपर्छ । यसविपरीत भड्किला लोक तथा दोहोरी गीत आउँछन् भने त्यो लोकगीतको क्षेत्रकै क्षयीकरण हो । त्यसैले यसमा सम्बन्धित निकायले एक्सन लिनै पर्छ । प्रतिष्ठान त निजी संस्था मात्रै भएकाले कारबाही गर्ने अधिकार यसलाई हुँदैन । आग्रह गर्ने र सुझाव दिनेसम्म मात्र हो । तर प्रतिष्ठाले विज्ञप्ति नै जारी गरेपछि व्यक्ति, संस्था र युट्युब च्यानलको नाम भने प्रष्टसँग उल्लेख गर्नुपर्छ । अन्यथा यो औपचारिकताभन्दा माथि हुँदैन । नाम र पहिचान नै गोप्य राखेर प्रतिष्ठानले दिएको चेतावनीको कुनै अर्थ हुँदैन । त्यसैले आफ्नो संस्थामा आवद्ध व्यक्तिविरुद्ध खरो उत्रिदै लोकदोहोरीको मर्म र भावनालाई जोगाउन प्रतिष्ठानले कुनै कसर राख्नु हुँदैन । अन्यथा ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर’ भनेजस्तो मात्रै हुनेछ ।

त्यसो त आफ्नो देशको कला, संस्कृति र सभ्यतासँग जोडिएको लोक तथा लोकदोहोरी गीतमाथि हमला हुँदा कुनै एउटा व्यक्ति वा निजी संस्थालाई भन्दा धेरै राज्यलाई दुख्नुपर्छ । सरकारी निकाय र त्यसका पदाधिकारीलाई दुख्नुपर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र मन्त्रीलाई यसप्रति चासो हुनुपर्छ । देशको संस्कृति र संस्कारमाथि धावा बोल्ने र धब्बा लगाउनेविरुद्ध कानुनी कारबाही गर्नुपर्छ ।

तर राज्य यस्ता कुरामा सधैँ मौन बस्ने गरेको छ । मौन बस्नुको अर्थ एक हिसाबले समर्थन गर्नु हो । सम्बन्धित व्यक्तिको अप्रत्यक्ष रूपमा मनोबल बढाउनु हो । त्यसैले देशको संस्कृतिमा धब्बा लगाउने व्यक्तिलाई प्रोत्साहन हैन राज्यले कारबाही गर्नुपर्छ । दण्डसजायको भागिदार बनाउनुपर्छ । अन्यथा देशको कलासंस्कृतिमाथि धब्बा लगाउने व्यक्ति र प्रवृत्तिले झन प्रोत्साहन पाउनेछ ।

व्यक्ति स्वयं सजग हुनु सबैभन्दा राम्रो हो । तर व्यक्ति स्वयं सचेत र जिम्मेवार हुँदैन भने राज्यले हाम्रो कला संस्कृतिलाई जोगाएर आउँदो सन्ततिलाई जस्ताको तस्तै हस्तान्तरण गर्ने दायित्व राज्यको हो । यसमा राज्य बेलैमा सचेत होस् । आजकै दिनबाट लोक तथा लोकदोहोरीलाई फोहोरी हुन नदिन लागिपरोस् ।