karsang
Close Me

कस्तो टिजर हो यो ?

काठमाडौं । पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को टिजर सार्वजनिक गरिएको छ । सोमबार निर्माणपक्षले नवअभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा डेब्यु गराउँदै चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

निर्माणपक्षले यसलाई ‘अनाउन्समेन्ट टिजर’ भनेको छ ।

टिजरमा अभिनेता पोखरेल हातमा बाकस बोकेर दौडिरेका एक व्यक्तिको रक्षा गर्न आइपुग्छन्, जसलाई एउटा ग्याङले आक्रमण गरेर उक्त बाकस कब्जा गर्ने प्रयासमा हुन्छन् ।

रहस्यमय उक्त बाकसमा के छ थाहा छैन । तर त्यही बासक बोक्ने व्यक्ति ग्याङको आक्रमणमा परेपछि यसलाई बचाउने प्रयासमा पोखरेल छन् । जब उनले उक्त बाकसबाट निस्किरहेको अनौठो प्रकाश देख्छन्, उनी आश्यर्चमा पर्छन् । टिजर सकिन्छ ।

टिजरमा एक्सन छ, ठिकठाक छ । चल्दै आएको नेपाली चलचित्रका एक्सनभन्दा नवीनतम केही नदेखिए पनि नराम्रो पनि छैन । कलर र रङ संयोजन पनि नराम्रो छैन ।

तर अनौठो चाहिँ के छ भने टिजर ट्रेलरभन्दा लामो छ । टिजरको लेन्थ जति सुकै लामो होस्, त्यसलाई पनि स्वीकारौं । तर अचम्मको कुरा के भने एउटै सिनमा टिजर सकिन्छ । १५/२० सेकेन्डको टिजर भए त एउटै सिन पनि ठिक होला । तर ३ मिनेट २२ सेकेन्डको टिजर छ । तर दृश्य चाहिँ एउटा फाइटको सिक्वेन्सको मात्रै ।

यतिको लामो समय लिएपछि यो स्टोरीसँग जोडिएका अन्य साइड स्टोरी र सिन देखाउँन सकिँदैन ? शिल्प भएको ट्रेलर सम्पादकले साढे ३ मिनेटमा सिनेमाका हरेक पक्ष देखाउन सक्छ । अधिकांश मुख्य कलाकार देखाउन भ्याउँछ । राम्रो टिजरले यति समय खर्चिंदा सिनेमा हेर्न नै अपिल गर्न सक्छ । जुन ल्याकत यो टिजरमा देखिएन ।

तर्क रहला– अनाउन्समेन्ट टिजर हो, सिनेमाको छायांकन भएको छैन, त्यसैले अरु दृश्य सम्भव भएन ।

हतार चाहिँ के थियो त ? फागुनमा बल्ल छायांकनमा जाने चलचित्रको टिजर नै आधा वर्ष पहिलो किन ? त्यसमा पनि सिनेमाको अनाउन्समेन्ट पनि यसअघि नै आधिकारिक रुपमै भइसकेको थियो ।

होइन अहिले नै टिजर सार्वजनिक गर्नैपर्ने थियो भने सिनेमाका अरु दृश्य पनि खिचेर आकर्षक टिजर बनाएको भए निर्माणपक्षलाई नै फाइदा हुने थियो ।

त्यसो त नेपाली चलचित्र उद्योगमा टिजर, पोस्टर र कलाकारको लाइनअप भन्दै सार्वजनिक गरेर निर्माता र पैसाको जोहो गर्ने चलन पनि नौलो होइन । त्यही प्रयोजन हो भने बेग्लै पाटो होइन भने बिहानीले दिनको संकेत गर्छ भन्ने सत्यलाई अगाडि राखेर विशलेषण गर्ने हो दर्शकले कस्तो मूल्यांक र एनलाइसिस गर्लान् ? कस्तो धारणा बनाउलान् । त्यो त सहजै अनुमान लगाउन सकिन्छ ।

पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को ‘अनाउन्समेन्ट टिजर’सार्वजनिक

चलचित्र ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् ।

चलचित्रको छायांकन आउँदो फागुनमा सुरु गर्ने योजना रहेको निर्माणपक्षले जनाएको छ । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ । बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ ।

चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायांकन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुन् ।

मानस्वी मालाकारको संगीत चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रंग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ ।

चलचित्रका निर्माता कुमार भास्कर हुन् । एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता विकास भण्डारी हुन् ।