karsang
Close Me

फरक बाटोमा हिँड्दै हो ‘ज्वाइँ साब’ ? प्रतिस्पर्धामा कति खरो उत्रिएला ?

काठमाडौं । जहाँ धेरै रिस्क हुन्छ, त्यहाँ प्रतिफलको सम्भावना पनि उच्च हुन्छ । जहाँ जोखिम भार कम हुन्छ, त्यहाँ नाफा अथवा फाइदाको सम्भावन पनि त्यति नै न्यून हुन्छ ।

चलचित्र निर्माण तथा कथा छनोटमा पनि यो सिद्धान्त लागु हुन्छ । ‘लुट’ र ‘चपली हाइट’ यसको उदाहरण हुन् । ‘लुट’को कथ्य शैली फरक थियो । तत्कालीन समयमा बनिरहेका सिनेमाभन्दा यसको भाषा फरक थियो ।

आम युवापुस्ताले बोल्ने भाषा चलचित्रमा प्रयोग गरिएको थियो । जुन तत्कालीन समयमा सिनेमामा प्रयोग गर्नु उल्टो बाटो हिँड्नु थियो । चुनौती मोल्नु थियो । तर, त्यही नै दर्शकले रुचाए । कारण त्यो भिडमा फरकपन बोकेर आएको थियो ।

‘चपली हाइट’को पहिलो सिरिज पनि त्यस्तै फरकपन बोकेर आएको थियो । जसले महिलाको यौन मनोविज्ञानको कथा त भनेको थियो । आफ्नै सोचेको मान्छे कतिसम्म निच कर्ममा उत्रिन्छ र आफ्नै गर्ल फ्रेन्डलाई गलत क्रियाकलापका लागि अरुको हातमा जिम्मा लगाउँछ भन्ने देखाएको थियो ।

यस्तो कथामा त्यो पनि महिलालाई प्रयोग गरेर चलचित्र बनाउनु आफैँमा फरकपन त थियो नै चुनौती पनि त्यतिकै थियो । कसैले आँट नगरेको कथा जोखिम मोलेर उठाएकै कारण यी दुई चलचित्र नेपाली सिने नगरीमा माइलस्टोन बन्न सफल भएका थिए ।

अहिले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ज्वाइँ साब’ले कस्तो कथा उठान गरेको छ, कथ्य शैली कस्तो छ, विषयवस्तुमा नौलोपन कति छ त्यो त रिलिज पछि नै थाहा होला । तर केही नौलोपन भने देखिएको छ ।

नेपाली हिन्दु परम्पराअनुसार कसरी विवाह हुन्छ ? दुलाहाले दुलहीलाई विवाह गरेर आफ्नो घर लैजाने हो । तर यो चलचित्रमा दुलहीले चाहिँ दुलाहा भित्र्याउँछिन् । विवाह पराइ घर जाने बेलामा आफ्नो जन्म घर छोड्दाको पीडा सहन नसकेर रुन्छन् । तर, यो सिनेमामा दुलाहा आफ्नो जन्म घर छोडेर दुलहीको घरमा जानु पर्दाको पीडामा रुन्छन् ।

विवाहमा सालीहरूले भिनाजुको जुत्ता लुकाएर पैसा बार्गेनिङ गर्छन् । तर यो चलचित्रमा दुलाहाका साथीले दुलहीको जुत्ता लुकाएर पैसाको बार्गेनिङ गर्छन् । यसरी हेर्दा यो सिनेमाको कथा केही फरक देखिएको छ । गीत अन्य कन्टेन हेर्दा आम सिनेमामा देखाइरहेको भन्दा फरक प्रयोग गरेजस्तो देखिएको छ ।

त्यसो फरक स्टोरी उठान गर्दैमा सिनेमा राम्रो हुन्छ भन्ने हुँदैन । त्यसको ट्रिटमेन्ट कस्तो छ भन्ने कुराले मुख्य भूमिका खेल्छ । कथा, त्यसको डेभलप्मेन्ट, कथाको फ्लो र लय तथा क्लाइमेक्सले चलचित्र कस्तो बन्छ निर्धारण गर्छ । यसमा कतिको खरो उत्रिनेछ ‘ज्वाइँ साब’ हेर्न बाँकी छ ।

‘छक्का पञ्जा’ र ‘१२ गाउँ’सँग भिड्नु पर्ने भएकाले पनि सिनेमा राम्रो बन्नै पर्ने दबाब छ । लेखक तथा निर्देशक यसमा कति खरो उत्रिएका छन्, त्यसले प्रतिस्पर्धामा कति खरो उत्रिने निर्धारण हुनेछ ।

राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको सिनेमाको शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई अभिनेत्री नीति शाहले साथ दिएकी छन् ।

वसन्त निरौलाको निर्देशनमा निर्माण भएको चलचित्रमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायतका कलाकारको अभिनय छ ।

रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।