अरु बढी बोले भन्दै आफैँ बढी बोलेको थाहै नपाउने जितुजी ?

काठमाडौं । जितु नेपाल र दीपकराज गिरी बक्सअफिसमा आमनेसामने हुँदा उनीहरूबीच जुवारी चलिरहेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रूपमा एकले अर्कोको आलोचना गरिरहेका छन् ।

जितु नेपालले सञ्चारमाध्ययममा गएर नामै लिएर दीपकराज गिरीको कमजोरी औंल्याउँदै आलोचना गरेका छन् भने दीपकले नामै नलिई सामाजिक सञ्जालमार्फत ब्यंग्य गरेका छन् ।

जितु नेपालले दीपकलाई मनमा इगो लिएर बस्ने व्यक्ति भन्दै आलोचना गरेका छन् । बाहिर एकखाले देखिने तर भित्र अर्कै भएको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा उनले दीपकले सामाजिक सञ्जालमा एकखाले स्टाटस लेखे पनि व्यवाहार भने त्यस्तो नरहेको बताएका थिए ।

“अरूको असफलताका खबरले मन प्रसन्न हुन्छ भने बुझौँ दानब अन्त छैन तपाईं हामी भित्रै छ,” दीपकले लेखेको यो स्टाटसप्रति लक्षित गर्दै जितुले अरुको भलो चाहनेले स्टाटसमा भनेजस्तै व्यवहार पनि त्यस्तै भए कति राम्रो हुने थियो भनेका थिए । ‘छक्का पञ्जा–५’सँगै मेरो पनि चलचित्र ‘ज्वाइँ साब’ आउन लागेको भन्दै दीपकले आफूलाई शुभकामना पनि दिन नसकेको बताएका थिए । जबकी त्यही दिन रिलिज हुने अर्को चलचित्र ‘१२ गाउँ’लाई भने शुभकामना दिएको भन्दै दीपकले आफ्नो इर्ष्या गरेको बताएका थिए ।

उनले सार्वजनिक रुपमा आफ्नो आलोचना गरेपछि दीपकले नाम नै उल्लेख नगरी जितुलाई कटाक्ष गर्दै लेखे, “ हामी सबैसँग कमजोरीहरू छन् । बुझ्नेले आफूलाई सुधार्नतिर लाग्छ । नबुझ्नेले अरूको कमजोरी औंल्याउन थाल्छ ।”

जितुले आफूले गल्ती गरे पनि दीपकराज गिरी र दीपाश्री निरौलाले माफी दिन नसकेको भन्दै उनीहरूको आलोचना गरेका थिए ।

उक्त टेलिभिजन कार्यक्रममा जितुले अरु बढी बोल्ने भन्दै आलोचना गरिरहँदा आफैँ भने बढी बोलिरहेका थिए ।

पूजा शर्मालाई पनि जितुले बोल्दा खै के नमिलेको नमिलेको भन्दै त्यही कारण गाली खानु परिरहेको बताएका थिए । यस्तै जयकिशन बस्नेत, पुण्य गौतम क्षमता भएर पनि बढी बोल्ने गरेको भनेर आलोचना गरिरहँदा जितु भने आफैँ बढी बोलिरहेका थिए । कार्यक्रमका होस्टले सोधेभन्दा पनि उनले बढी बोलिरहेका थिए । जितुजी अरूले बढी बोले भनेर भनिरहँदा आफैँ बढी बोलेको चाहिँ कहिल्यै थाहा पाउनु हुन्न ? कमजोरी आफूसँग पनि छ, बढी बोल्ने बानी छ भनेर भन्ने तर सच्चिन चाहिँ नसच्यिने ?

राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘ज्वाइँ साब’को शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई अभिनेत्री नीति शाहले साथ दिएकी छन् ।

वसन्त निरौलाको निर्देशनमा निर्माण भएको चलचित्रमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायतका कलाकारको अभिनय छ ।

रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

‘छक्का पञ्जा–५’मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी लगायतको अभिनय रहेको छ ।

हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको सिनेमामा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कपिल पराजुलीको कलर तथा विपिन मल्लको सम्पादन रहेको छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।