‘बेहुली फ्रम मेघौली’को अपिलिङ ट्रेलरले जगाएको अपेक्षा
काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्का आफैँमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने कलाकार हुन् । निश्चल निर्देशकका रूमा नयाँ प्रयोग गर्न रुचाउने व्यक्ति हुन् । स्वस्तिमा कलाकारका रुपमा नयाँ काम गर्न रुचाउने अभिनेत्री हुन् ।
यी दुवै कम्फर्ट जोनबाट बाहिर निस्किएर सकेसम्म नयाँ काम गर्न रुचाउने चलचित्रकर्मी हुन् । निश्चलले ‘लुट’मा नयाँ प्रयोग गर्दा नेपाली चलचित्रले नयाँ धार समात्यो ।
तत्कालीन समय फरक धार भनिएका सिनेमा अहिले मूूल धार भएका छन् । निश्चल कम्फर्ट जोनबाट बाहिर निस्किएर सिनेमा मेकिङमा छिर्दा नेपाली चलचित्रले नयाँ स्वरुप लियो ।
स्वस्तिमा कम्फर्ट जोनबाट बाहिर निस्किँदा उनको करिअरले फड्को मार्यो । ‘बुलबुल’ बाट नायिकाबाट अभिनेत्रीमा रुपान्तरण भइन् । ‘चिसो मान्छे’बाट उनी थप निखारिइन् । निश्चलले ‘टलकजंग भर्सेस टुल्के’बाट सिभिल वारको कथा भन्दै आफू फरक फरक जनरामा कथा भन्न रुचाउने निर्देशक भएको प्रमाणित गरे ।
रिल र रियल यही जोडी निश्चल र स्वस्तिमा अहिले नयाँ चलचित्र लिएर आउँदैछ । ‘बेहुली फ्रम मेघौली’ लिएर आउँदैछ । घटस्थापनाको दिन यो चलचित्र रिलिज हुनेछ ।
यो चलचित्रले तीन दशक पुग्नै लाग्दासमेत छोरीको विवाह नभएपछि पिरोलिएको परिवारको कथा भन्दैछ । २९ वर्ष टेकेकी छोरीको विवाह नभएपछि बाउआमा तनावमा छन् ।
केटाहरु केटी हेर्न आउँछन् । तर उमेर धेरै भयो भन्दै फर्किन्छन् । यता केटी भने जस्तोपायो त्यस्तै केटासँग विवाह गर्न तयार छैन । केटा र केटी मन पराए भए चिना मिल्दैन । चिना मिले केटाकेटीको कुरा मिल्दैन ।
बल्तल्ल उमेर २९ नै भए पनि राजी भएको केटासँग केटीको चिना नमिलेपछि फेक चिना मिलाउने प्रपंच सुरु हुन्छ । यी र यस्तै कुरा देखाएको चलचित्रको ट्रेलरले छोरीले थाहै नपाई बाउआमाले जबरजस्ती बिहेको तयारी गर्छन् ।
सिनेमाको क्लाइमेक्स के छ थाहा छैन । तर ट्रेलरको क्लाइमेक्सले विवाहको पहिरनमा सजिएकी बेहुली ट्याक्टर चढेर भाग्छिन् । आफूले मन नपराएको, लुज क्यारेक्टर भएको केटासँग विवाह गर्नुभन्दा भाग्नु नै उचित ठानेर ट्याक्टर चढेर भाग्छिन् । केराका थाम बोकेर स्कुटरमा दौडिने एउटा टोली र ट्याक्टर चढेर भाग्ने अर्को टोली । कमेडीसहितको दृश्यले दर्शकलाई हसाउँछ । ट्रेलरले दर्शकलाई सिनेमा हेर्न अपिल गरेको छ । अपिलिङ ट्रेलर दिन निश्चल र स्वस्तिमा सफल भएका छन् ।
ट्रेलरले सिनेमाले नेपाली समाजको परम्परागत विवाहलाई तिखो ब्यंग्य गर्दै मन छुने कथा भन्ने प्रष्ट देखिएको छ ।
सिनेमा हेर्न हल गएपछि रित्तो दिमाग लिएर दर्शक फर्काउनु हुँदैन भन्ने मान्यता राख्छन् निश्चल । उनका लागि हास्ने र हसाउनु चलचित्रको पहिलो सर्त हो । मनोरञ्जन चलचित्रको पहिलो सर्तसँगै हल पुगेर फर्किएपछि दर्शकले यो सिनेमाबाट के पाएँ भनेर सोच्नुपर्छ भन्ने मान्यता राख्छन् ।
‘बेहुली फ्रम मेघौली’को मुख्य भूमिकामा स्वस्तिमा र निश्चल छन् । यो चलचित्रमा लगानी पनि उनीहरूकै हो । त्यसैले यो चलचित्रमा केही छ भन्ने दर्शकको अपेक्षा छ । रिस्क लिएर कहिले फरक प्रयोग गर्ने त कहिले फरक विषय उठाउने निश्चलले यो चलचित्रमा पनि पक्कै केही नयाँ पस्किने धेरै दर्शकको अपेक्षा छ ।
‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदै छ । चलचित्रमा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।