‘रिमै’ छायांकनका लागि नेपाल आइन ‘कबड्डी’ कि मैया

काठमाडौं । रिश्मा गुरुङ नयाँ सिनेमा ‘रिमै’को छायांकनका लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताएकी छन् ।

उनी कबड्डी शृखंलामा मैयाको रोलमा थिइन् । “म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किंदै छु । क्रसरोड नामक सिनेमामा काम गरेकी थिँए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन,” उनले भनिन्, “त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो । विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ ।”

सिनमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न तयार भएको उनले बताइन् ।

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने सिनेमालाई बिरबहादुर घलेले निर्माण गर्दैछन् । सिनेमाको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए ।

सिनेमामा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमाको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।