‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, अमेरिका लगायतका देशमा रिलिज हुने
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। दशैंको अवसरमा यही असोज २४ गते फूलपातीको दिन नेपालमा रिलिज हुने सिनेमाको अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जानकारी दिएको छ।
निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले यो सिनेमाको अमेरिका प्रदर्शनको अधिकार लिएको छ। पोखरेलका अनुसार अक्टोबर ११, शुक्रबारदेखि अमेरिकाको विभिन्न सहरहरू जस्तै टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो र न्यू हेम्प्शायरलगायतका स्थानहरूमा सय भन्दा बढी शोमा फिल्म प्रदर्शन गरिनेछ।
चलचित्र का निर्देशक वसन्त निरौलाले फिल्मको पोस्टर, टिजर, गीत तथा हालसालै टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले फिल्मप्रति विदेशी नेपाली दर्शकहरूको चासो बढाएको बताएका छन्। “अन्य देशहरूमा पनि फिल्मको प्रदर्शन अधिकार बिक्रीका लागि कुराकानी भइरहेको छ। प्रचार सामग्रीले राम्रो हाइप लिएकोले हामी उत्साहित छौं,” उनले भने।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्र मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेको चलचित्र को कार्यकारी निर्माताको भूमिका विजय बस्यालले सम्हालेका छन्। सिनेमाको लेखन शंकर धिताल, कथा सबिन अधिकारी, छायांकन श्याम तामाङ, एक्सन संजय थापा, र संगीत अर्जुन पोखरेल तथा महेश ताम्राकारको रहेको छ।
‘ज्वाइँ साब’ले विदेशका नेपाली दर्शकहरूमा समेत राम्रो प्रभाव पार्ने अपेक्षा राखिएको छ, भने अन्य देशहरूमा पनि प्रदर्शनका लागि सहकार्य भइरहेको निर्माण पक्षले जानकारी दिएको छ।