‘बेहुली फ्रम मेघौली’लाई क्यूएफएक्समा ७२ शो, आक्रामक ओपनिङको अपेक्षा
काठमाडौं । पोस्टर सार्वजनिक भएदेखि नै राम्रो तारिफ पाएको सिनेमा ‘बेहुली फ्रम मेघौली’को अग्रिम टिकट बुकिङ खुला भएको छ ।
असोज १७ गते घटस्थापनाको दिनदेखि रिलिज हुने सिनेमाको टिकट बुकिङ खुला भएको हो ।
टिजर र ट्रेलरले गज्जवको हाइप बनाएको सिनेमाले अधिकांश मल्टिप्लेक्समा उच्च शो पाएको छ । देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ७२ शो पाएको छ ।
‘बेहुली फ्रम मेघौली’लाई क्यूएफएक्सले काठमाडौं उपत्यकाभित्रका आफ्ना आउटलेटमा ३३ शो दिएको छ । काठमाडौं बाहिर ३९ शो प्रदान गरेको छ । टिकट बुकिङ उच्च देखियो भने शो संख्या थपिनेछ ।
‘बेहुली फ्रम मेघौली’लाई देशकै दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजमा १४ शोउपलबध गराएको छ । एक वान सिनेमाजले आफ्ना दुईवटा हलमा ११ शो लिएको छ ।
अन्य मल्टिप्लेक्सले पनि ‘बेहुली फ्रम मेघौली’लाई उच्च शो दिएका छन् । केही हलले भने अग्रिम टिकट बुकिङ खुलाउन बाँकी छ ।
मल्टिप्लेक्सले दिएको उच्च शो र सिनेमाले बनाएको हाइपले ‘बेहुली फ्रम मेघौली’ले आक्रामक ओपनिङ गर्ने अपेक्षा धेरैको छ ।
चलचित्रका लेखक तथा निर्देशक सजल काफ्ले र आकाश बराल हुन् ।
‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा खड्का र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । स्वस्तिमा र निश्चल सँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।