नयाँ रियालिटी शो ‘अन्ताक्षरी’ को डिजिटल अडिसन सुरु
काठमाडौं । नोबडी प्रोडक्सनले नयाँ रियालिटी शो ‘अन्ताक्षरी’ को डिजिटल अडिसन सुरु भएको घोषणा गरेको छ । भदौ २४ गते काठमाडौँमा आयोजित एक भव्य कार्यक्रममा शोको घोषणा गरिएको थियो, जसलाई घटस्थापनाको पावन अवसर पारेर डिजिटल अडिसनको घोषणा गरिएको हो ।
नोबडी प्रोडक्सनको आधिकारिक सामाजिक सञ्जालमार्फत विहिबार साँझ ५ बजे सार्वजनिक गरिएको पाँच मिनेट लामो प्रोमोसनल भिडियोमा सबैलाई ‘अन्ताक्षरी’ को यात्रामा सामेल हुनका लागि आग्रह गरिएको छ । भिडियोमा अन्ताक्षरी खेलेको भिडियो पठाएर डिजिटल अडिसनमा सहभागी हुन आग्रह गरिएको छ, जहाँ सहभागीले कम्तीमा ६ वटा गीत गाएर आफ्नो भिडियो व्हाट्सएप वा भाइबर नम्बरमा पठाउनुपर्नेछ ।
नेपालमा ‘को बन्छ करोडपति’, ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’, ‘क्राइम पेट्रोल नेपाल’ जस्ता फ्रेन्चाइज शोहरू भित्र्याउने नोबडी प्रोडक्सनको यो महत्त्वाकाङ्क्षी शोले दर्शकहरूबीच ठूलो चर्चा बटुलिरहेको छ । शोको फर्म्याट, होस्ट लगायतका मुख्य पक्षहरू गोप्य राखिएको हुँदा दर्शकको चासो झनै बढेको छ ।
शोको प्रोजेक्ट हेड विपिनकुमार आचार्यका अनुसार ‘अन्ताक्षरी’ आगामी चैतदेखि टिभी र डिजिटल प्लेटफर्ममा प्रसारण हुनेछ । प्रिप्रोडक्शन कार्य तीव्र गतिमा अगाडि बढिरहेको जानकारी उनले दिए । डिजिटल अडिसनको प्रक्रियापछि फिजिकल अडिसन पनि हुने उनले स्पष्ट पारे ।
नोबडी प्रोडक्सनले यस शोको साथै ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ र ‘ब्रिलियन्ट ब्रेन्स’ नामक थप दुई रियालिटी शोहरूको पनि घोषणा गरेको छ ।
शोमा सहभागी हुने विवरण:
WhatsApp/Viber नम्बर: 9868634807
भिडियोमा कम्तीमा ६ वटा गीत गाएर अन्ताक्षरीको फर्म्याटमा पठाउनुपर्ने