छेउमा निर्देशक र निर्मातालाई राखेर साम्राज्ञीले भनिन्– ‘लण्डन टु पेरिस’बाट मलाई कमब्याकको अपेक्षा छैन
काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘लण्डन टु पेरिस’ दर्शकले मन पराउने तर यो आफ्ना लागि ‘कमब्याक मुभी’ नभएको बताएकी छन् । सोमबार चलचित्र ‘लण्डन टु पेरिस’ले काठमाडौंमा टेक्स्ट मिडियासँग भेटघाट कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा चलचित्रका निर्देशक घनश्याम लामिछाने, लेखक प्रदीप भारध्वज, नायक निश्चल खड्का र कविर खड्का थिए । सँगै निर्माता पनि थिए । बीचमा बसेकी साम्राज्ञीले आफूले यो सिनेमाबाट कमब्याक हुन्छ भन्ने नसोचेको प्रष्टै बताइन् ।
निर्देशक लामिछाने आफूले यसअघि मौलिक चलचित्रमा धेरै काम गरे पनि भिजुअलकै काम भएकाले लार्जरदेन लाइफ लभस्टोरी सिनेमा निर्देशन गर्न पनि अफ्ठ्यारो नभएको बताइरहेका थिए । दर्शकले सिनेमा मन पराउनेमा शंका नरहेको उनले बताइरहेका थिए ।
सँगै रहेका लेखक प्रदीप पनि प्राय नेपालमा स्क्रिप्ट र भिजुअलमा आइपुग्दा धेरै फरक पर्ने गरे पनि ‘लण्डन टु पेरिस’मा यो समस्या नरहेको निर्धक्क दाबी गरिरहेका थिए । लभस्टोरी सिनेमा यस्तो हुनुपर्छ भनेर निर्धक्क आफूले लेखेकाले पनि चलचित्र दर्शकले मन पराउने बताइरहेका थिए ।
जब बोल्ने पालो साम्राज्ञीको आयो । र उनलाई पत्रकारले प्रश्न गरे, लण्डन टु पेरिसलाई तपाईंको कमब्याक मुभी भनिरहेको अवस्था छ । कस्तो लागिरहेको छ रिलिज अगाडि ?
जवाफ दिँदै साम्राज्ञीले कसैको धक नमानी भनिन्, “मैले यो फिल्मबाट मेरो कमब्याक हुन्छ भन्ने सोचेको छैन । टु वि अनेस्ट । यो राम्रो मुभी हो । यसमा इन्टरटेनमेन्ट छ । हाम्रो दर्शकले मन पराइदिनु हुन्छ होला । तर मैले यसबाट कमब्याक हुन्छ भन्ने सोचेको छैन ।”
निकै खुलस्थ कुरा गरेकी साम्राज्ञीले त्यही कार्यक्रममा आफूलाई लभस्टोरी जनरामा मात्रै काम गर्ने नायिकाको कोटरीमा राखेको बताएकी थिइन् । विभिन्न जनरा र क्यारेक्टरमा एक्सपिरियन्स लिन चाहे पनि एकै खालका स्क्रिप्ट आउने र आएका आठ÷नौवटा स्क्रिप्टबाट राम्रो लागेको कथा छान्ने गरेको उनले बताएकी थिइन् । साम्राज्ञी वेपरवाह मनमा लागेको कुरा खुलस्थ बोल्ने नायिका हुन् ।
चलचित्र ‘लण्डन टु पेरिस’ले ट्राभल लभस्टोरीको कथा पेस गर्ने निर्माणपक्षले बताउँदै आएको छ । कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन् । सिनेमामा साम्राज्ञी, निश्चल, गरिमा र कविरसँगै रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
अभेद परवको डीओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत रहेको छ । चलचित्रमा सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ ।
साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन गरेका छन् । मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्दैछन् । चलचित्र यही जेठ २५ गतेबाट रिलिज हुनेछ ।