‘छक्का पञ्जा’को ट्रेलरमा भ्रष्ट सरकारी सेवामा रहेर त्यसैविरुद्ध संघर्ष गर्दै दीपक
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र रिलिजको काउन्टडाउन सुरु भइसकेपछि सार्वजनिक भएको ट्रेलरले चलचित्रको कथा प्रस्ट पारेको छ ।
यो सिरिजले नेपालको निजामति सेवाभित्र रहेको विकृतिलाई उठान गर्ने ट्रेलरले प्रष्ट्याएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र दीपकराज गिरी एक इमान्दार कर्मचारीका रुपमा देखिएका छन् ।
जसले निजामति सेवाभित्रै रहेर त्यहाँभित्र रहेका विकृति र विसंगतिविरुद्ध संघर्ष गरेको देखाइएको छ । त्यसको परिणाम उनले कस्तो भोग्छन् त्यो पनि ट्रेलरले संकेत गरेको छ ।
उनले छक्का पञ्जा गरेर विवाह गरेको र त्यसको नतिजा पनि उनले भोगिरहेको ट्रेलरले देखाएको छ । ट्रेलरमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, ब्रजेश खनाललगायत कलाकार अटाएका छन् ।
दीपाश्री निरौलाको निर्देशन गरेको चलचित्र असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, तेज गिरी, प्रकाश घिमिरे, ब्रजेश खनाललगायतको अभिनय छ ।
हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको सिनेमामा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।
आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कपिल पराजुलीको कलर तथा विपिन मल्लको सम्पादन रहेको छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।