karsang
Close Me

दर्शकको उत्साहजनक प्रतिक्रिया सँगै ‘बेहुली फ्रम मेघौली’को बक्सअफिसमा आक्रामक व्यापार

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले सफल बनाउँदै लगेको छ। दर्शकहरूबाट पाएको यस्तो समर्थनले आगामी दिनहरूमा सिनेमाको व्यापार अझै बढ्ने देखिएको छ ।

असोज १७ गते अर्थात् गत बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्रले बक्सअफिसमा उत्कृष्ट सुरुवात गर्दै तेस्रो दिनसम्म हाउसफूल व्यापार कायम राखेको छ । दर्शकबाट पाएको सकारात्मक वर्डअफ माउथको फाइदाले सिनेमाले शनिबार विशेषगरी काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरमा आक्रामक प्रदर्शन गर्न सफल भएको छ ।

एडभान्स बुकिङकै चरणबाट नेपाली चलचित्रको इतिहासमै सर्वाधिक सोज पाएको यो सिनेमाले प्रदर्शनको पहिलो दिन उत्साहजनक व्यापार गर्दै ८० लाखको कमाइ गर्‍यो । सिनेमाले दोस्रो दिन शुक्रबार काठमाडौं लगायत देशका ठूला सहरहरूमा सुखद अकुपेन्सी कायम राख्न सफल भएको थियो।

ओपनिङ निकै उत्साहजनक गरेको सिनेमाको तेस्रो दिन शनिबार व्यापारमा झनै उछाल आएको छ। शनिबारको बिहानी शोबाटै हाउसफूल व्यापार सुरु गरेको थियो । बिहानैदेखि देशभरका अधिकांश हलमा सिनेमा हेर्न दर्शकहरूको भीड लाग्न थालेको देखियो ।

सिनेमाको निर्माण टिम कलाकारहरूसँगै विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कारसमेत गरेको थियो । विशेषगरी महिला दर्शकहरूलाई सिनेमाकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काको अभिनयले भावुक बनाएको थियो । आफ्नो कथा सिनेमामा उठाइएको भन्दै स्वस्तिमालाई धन्यवाद दिन र अंगालो हालेर रोने धेरै महिला दर्शक देखिए । अभिनेत्री खड्काले उक्त भावनात्मक माहोललाई सम्बोधन गर्दै दर्शकलाई सान्त्वना दिन खोजेकी थिइन् ।

सिनेमाको राम्रो व्यापार र दर्शकको साथ पाएपछि मुख्य अभिनेता तथा निर्माता निश्चल बस्नेतले दर्शकप्रति आभार व्यक्त गरेका छन् । दशैंको अवसरमा परिवारसहित सिनेमा हेर्दै रमाइलो गर्न र उत्सव मनाउन उनले आग्रह गरे । अभिनेत्री स्वस्तिमा खड्काले पनि दर्शकको यस्तो उत्साहजनक साथले आफूलाई अझै हौसला मिलेको बताउँदै आगामी दिनमा यस्तै रमाइला र सन्देशमूलक सिनेमा निर्माण र अभिनयमा केन्द्रित रहने बताइन् ।

सिनेमाका वितरक अशोक शर्माका अनुसार ‘बेहुली फ्रम मेघौली’ ले काठमाडौं उपत्यकासँगै नारायणगढ, बुटवल, नेपालगञ्ज, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, पोखरालगायतका ठूला सहरहरूमा पनि हाउसफूल व्यापार गरिरहेको छ । अनलाइन टिकटिङ साइटहरूमा पनि टिकटको उच्च माग रहेको देखिन्छ ।

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको यस सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।