दशैँमा राम्रा चलचित्र हेरौँ, नराम्रा सिनेमालाई निरुत्साहित गरौँ
नेपालमा कति राम्रा चलचित्र बन्छन् ? यसमा व्यक्ति अनुसारको धारणा आउला । हरेक व्यक्तिको आ–आफ्नै रुचि हुन्छ । कसैलाई मन परेको चलचित्र अर्कोलाई झुर पनि लाग्न सक्छ । समग्रमा जवाफको अपेक्षा गर्ने हो वा सर्वे नै गर्ने हो भने धेरैको जवाफ रहला– नेपाली चलचित्र खासै राम्रा बन्दैनन् ।
यसका पछाडि विभिन्न कारण होलान्, अपार्याप्त बजेट, दक्ष प्राविधिकको कमी, उत्कृष्ट सिनेमा लेखकको अभाव, अभिनयमा अब्बल कलाकारको अभाव, सानो बजार, निर्देशकीय क्षमतावान निर्देशकको अभाव, कमजोर पब्लिसिटी आदि ।
तर, हाम्रो जत्रै बजार र बजेट भएका विश्वका सिनेमा उद्योगमा कति गुणस्तरीय चलचित्र बनिरहेका छन् ? अथवा छैनन् । तुलना गर्ने हो भने जवाफ आउला ।
नेपाली सिनेमाको भन्दा छोटो इतिहास र सानो बजेट तथा सानो बजार भएका सिनेमा उद्योगले राम्रा चलचित्र बनाएका थुप्रै उदाहरण छन् । यहाँ यो देश र यी चलचित्र भनेर नाम लिइरहनु पर्दैन । कारण सिनेमाप्रेमी दर्शकलाई जगजाहेर विषय हो । जहाँ सिनेमा बनाउनै लगबग प्रतिबन्धको अवस्था रहेका देशमा पनि गज्जवका सिनेमा बन्न थालिसकेका छन् । अस्कर विनर सिनेमा र निर्देशकलाई टक्कर दिन थालिसकेका छन् ।
सिनेमाको गुणस्तर कमजोर भए पनि संख्या भने नेपाली सिनेमा उद्योगमा कम छैन । वार्षिक सयभन्दा धेरै सिनेमा बन्न थालिसकेका छन् । भलै कोभिड पछि यो संख्यामा केही कमी आएको छ ।
संख्या आफैँमा महत्वको कुरा होइन । उद्योग चलायमान होला, रोजगारी सिर्जना होला त्यो अलग कुरा हो । तर जबसम्म राम्रा र गुणस्तरीय सिनेमा बन्दैनन्, विश्वभरका सिनेमाप्रेमी दर्शकले खोजेर हेर्ने वातावरण बन्दैन तबसम्म सही मानेमा चलचित्र उद्योगको विकास र विस्तार हुँदैन । बजारको विकास र विस्तार नभएसम्म बजेटमा मेकरले सधैँ कम्प्रमाइज गर्ने अवस्था बन्छ ।
सिनेमाको गुणस्तर बढाउने पहिलो भूमिका मेकरकै हो । यसका पछाडि उसको अध्ययन, अनुभव, जिम्मेवार पन, बजेट, बजार आदि कारण रहलान् । तर मेकरको जति नै सिनेमाको गुणस्तर बढाउने भूमिका दर्शकको पनि हुन्छ । भलै अप्रत्यक्ष किन नहोस् ।
दर्शकले राम्रा चलचित्र मात्रै छानी छानी हेर्ने र नराम्रालाई वास्तै नगरिरिदने हो भने मेकर आफैँ राम्रो चलचित्र बनाउन बाध्य हुन्छन् । रहर मात्रै गर्ने र क्षमता नभएका मेकर आफैँ पाखा लाग्छन् ।
सिनेमाको हाइप राम्रो हुँदैमा, पब्लिसिटी गरेकै भरमा, विगतका चलचित्रका आधारमा ठूलो नाम हुँदैमा चलचित्र हेर्नुपर्छ भन्ने छैन । रिलिजभन्दा अगाडि बजारमा पठाइएका कन्टेनको अध्ययन गरेर मात्रै चलचित्र हेर्ने बानी दर्शकले पनि बनाउनुपर्छ । मेरिट र डिमेरिटका आधारमा चलचित्र हेर्ने संस्कार विकास गर्नुपर्छ ।
चलचित्रको समीक्षा कस्तो आएको छ ? दर्शकको प्रतिक्रिया कस्तो छ, त्यसलाई सिनेमा हेर्ने आधार बनाउनुपर्छ । लहडका भरमा नराम्रो सिनेमा हेर्नु भनेको गुणस्तरहीन चलचित्र बनाउने निर्देशक र मेकरलाई हौसला दिनु हो । र, राम्रा चलचित्र नहेर्नु भनेको पनि नराम्रा चलचित्र बनाउनेलाई उत्साही बनाउँदै राम्रो मेकरलाई हतोत्साही बनाउनु हो ।
यो दशैँमा पनि केही चलचित्र रिलिज हुँदैछन् । केही रिलिज भइसकेर चलिरहेका छन् । दशैँमा पनि जुन चलचित्र राम्रो छ, त्यही हेरौँ । हेर्नेले पनि इमान्दार भएर जस्तो हो त्यस्तै प्रतिक्रिया दियौँ । जसले राम्रा मेकरलाई दर्शकको साथ र हौसला मिलोस्, नम्रामा मेकरलाई सवक होस् । दर्शकले राम्रा र नराम्रा चलचित्र बन्नुमा मेरो पनि परोक्ष रूपमा भूमिका छ भन्ने बुझौँ । यसले राम्रा नेपाली चलचित्र निर्माणमा अहम भूमिका निर्वाह गर्नेछ । अन्ततः नेपाली चलचित्र उद्योगमा पनि राम्रा चलचित्र बन्नेछन् ।