स्क्रिप्ट सुनेको २० मिनेटमै किन तयार भएकी थिइन् नीति ‘ज्वाइँ साब’ खेल्न ?
काठमाडौं । नेपाली फिल्म उद्योगमा आफूलाई अभिनेत्रीको रूपमा स्थापित गर्न प्रयासरत नीति शाहको दोस्रो चलचित्र ‘ज्वाइँ साब’ यही असोज २४ गते फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा छ ।
यसअघि नीतिको पहिलो चलचित्र ‘खजुरे ब्रो’ गत वैशाखमा प्रदर्शन भएको थियो । अब, डेब्यु नै फ्लप भएको चर्चासँगै करिअरको अर्को महत्वपूर्ण रूपमा यो सिनेमाले दर्शकसमक्ष उनको नयाँ अवतार प्रस्तुत गर्न गइरहेको छ ।
यस चलचित्रमा ‘लक्ष्मी’ नामक पात्रको भूमिकामा देखिन लागेकी नीतिको जोडीका रुपमा हास्य कलाकार जितु नेपाल छन् । सिनेमाको पोस्टर, टिजर, गीत र ट्रेलरले यी दुईको जोडीलाई दर्शकमाझ राम्रोसँग प्रस्तुत गरिसकेको छ ।
सिनेमाको कथा उनकै पात्र वरिपरि घुमेको नीतिले उल्लेख गरिन् । “चलचित्रको स्टोरीलाइन नै मलाई मन पर्यो । कथा मेरै वरपर घुमेकाले यो सिनेमामा अभिनय गर्नु उचित ठानेँ,” उनले भनिन् ।
‘ज्वाइँ साब’मा ‘प्रष्ट’ नेपाली बोल्न नीतिले निकै मेहनत गरेको उल्लेख गरिन् । “मलाई चलचित्रमा ठेट नेपाली बोल्न कठिनाइ भयो, तर धेरै प्रयास गरें । अझ धेरै सिक्न बाँकी छ, तर यो अनुभव निकै महत्त्वपूर्ण रह्यो,” उनले भनिन् ।
नीतिले चलचित्रको स्क्रिप्ट सुनेको २० मिनेटभित्रै काम गर्न सहमत भएको बताइन् । उनले भनिन्, “मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनेँ । स्क्रिप्ट सुनेको २० मिनेटमै म काम गर्छु भनेर सहमति जनाएँ । स्क्रिनप्ले र मेरो क्यारेक्टर दुवै मन परेकोले सिनेमामा काम गर्न म तयार भएँ ।”
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको सिनेमाको दृश्य टिकटकमा सार्वजनिक भएको थियो, जसले मिडियामा राम्रै चर्चा पाएको थियो । नीतिले फुटेजमा राम्रो प्रतिक्रिया प्राप्त भएको बताइन् । साथै, उनले जितु नेपालको कामबाट प्रभावित भएको पनि खुलाइन् । “जितु दाई धेरै सिनियर भए पनि सेटमा कहिल्यै सिनियरपना देखाउनुभएन, जसले गर्दा काम गर्न सहज भयो। उहाँको संघर्षले मलाई प्रेरित गर्यो,” उनले भनिन् ।
नीतिले आफ्नो करिअरमा फरक-फरक भूमिकामा काम गर्दै जान चाहने बताएकी छिन् । उनी भर्सटायल कलाकारको रूपमा स्थापित हुन चाहन्छिन् र ‘ज्वाइँ साब’ उनका लागि एक महत्वपूर्ण अवसर भएको बताउँछिन् ।
फूलपातीको दिन रिलिज हुने यो चलचित्रले उनलाई दर्शकको मनमा स्थापित गराउन कत्तिको सफल हुनेछ, अब हेर्न बाँकी छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको यो चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, र दीपक आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।