karsang
Close Me

तुलसीको चलचित्र ‘पहाड’मा विपिनको र्‍याप

काठमाडौं । चर्चित निर्देशक तुलसी घिमिरेको नयाँ चलचित्र ‘पहाड’ मा अभिनेता विपिन कार्कीले र्‍याप गीतमा स्वर दिएका छन् । आईतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा कार्कीले गीत रेकर्ड गरेका हुन् । यस गीतको संगीतकार घिमिरेका ससुरा रञ्जित गजमेर हुन्, भने गीतका शब्द स्वयं घिमिरेले लेखेका छन् ।

विपिनले यसअघि चलचित्र ‘छड्के’मा पनि गीत गाएका थिए, तर यसपटकको र्‍याप गायनलाई उनले विशेष अनुभवका रूपमा व्याख्या गरेका छन् । रेकर्डिङपछि विपिनले भने, “हिन्दी र नेपाली शब्द मिसाईएको लिरिक्स सुरुमा कठिन लागे पनि गायनको क्रममा सहज भयो। यसले धेरै रमाइलो अनुभूति दिलायो ।”

यो गीतमा भारती घिमिरे र एक अन्य गायकको पनि स्वर रहनेछ । चलचित्रमा जम्मा चार वटा गीतहरू समावेश हुनेछन् ।

यो सिनेमाको छायांकन आगामी तिहारपछि सुरु हुने भएको छ । निर्माण पक्षका अनुसार को ५० प्रतिशत छायांकन नेपालका विभिन्न पहाडी भेगमा हुनेछ भने बाँकी ५० प्रतिशत मुम्बईमा हुनेछ। फिल्मको प्रि-प्रोडक्सन अन्तिम चरणमा पुगेको छ, जसमा निर्देशकलाई उनकी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रूपमा सहयोग गरिरहेकी छन् ।

जसमा विपिन कार्कीका साथै मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायतका कलाकारको अभिनय रहने बझिएको छ । निर्देशक घिमिरेले फिल्ममा एक प्रसिद्ध अभिनेता र एक नयाँ अभिनेत्रीको आगमनलाई ‘सप्राइज’ का रूपमा घोषणा गरेका छन् ।

तुलसी घिमिरे नेपाली फिल्म उद्योगको ‘स्वर्णिम युग’ को निर्देशकका रूपमा चिनिन्छन्। ‘बलिदान’, ‘चिनो’, ‘दर्पण छायाँ’, ‘कुसुमे रुमाल’, जस्ता हिट सिनेमा दिएका घिमिरेको पछिल्लो निर्देशन २०१७ मा आएको ‘दर्पण छायाँ २’ थियो । सात वर्षपछि उनी पुनः निर्देशनमा फर्किंदै छन्, र ‘पहाड’ उनका २३औं चलचित्र हुनेछ।

घिमिरेले हालै एक पोडकास्टमा भनेका थिए, “२५ वटा चलचित्र निर्देशन गरेपछि आत्मसन्तुष्टि मिल्ने भन्ने विश्वास छ। अहिले २३ वटा चलचित्र निर्देशन गरिसकेको छु, अब अझै दुईवटा सिनेमा बनाएर त्यो संख्या पुर्‍याउने अठोट छ।”

‘पहाड’को कथा बढ्दो बसाइँसराइ र पहाडी भूगोलबाट मानिसहरूको पलायनलाई केन्द्रित गर्नेछ। यसलाई आगामी नयाँ वर्षमा रिलिज गर्ने योजना रहेको छ।