‘जोकर २’को यस्ताे खराब रेकर्ड, ‘डी’ सिनेमास्कोर प्राप्त गर्ने पहिलो कमिक सिनेमा
काठमाडौं । हलिउड चलचित्र ‘जोकर: फोली ए ड्यूक्स’ (जोकर-२) को नाममा नचाहिने रेकर्ड बनेको छ, जुन कुनै पनि निर्माताले चाहेनन् ।
पाँच वर्षअघि रिलिज भएको ‘जोकर’को पहिलो भागले एक बिलियन डलर कमाइ गरेको थियो । जुन यो त्यसैको सिक्वेल हो, जसबाट धेरै अपेक्षा गरिएको थियो ।
१९० मिलियन डलर लागतमा बनेको वार्नर ब्रदर्स पिक्चर्सको म्युजिकल साइकोलोजिकल थ्रिलर यो सिनेमा सबैभन्दा खराब रेकर्ड राख्ने चलचित्र बनेको छ ।
‘जोकर २’ बाट एकातिर निर्माताहरुले धेरै अपेक्षा राखेका थिए भने उल्टो यसमा संलग्न कलाकारहरुका लागि यो सिनेमा दुःस्वप्न सावित भइरहेको छ । यो सिनेमाले पहिलो सप्ताहन्तमै बक्स अफिसमा नराम्रो नतिजा प्राप्त गरेको छ । पहिलो भाग ‘जोकर’ धेरै कमाउने इतिहासकै एडल्ट सिनेमा समेत हो ।
आशा गरिएका अपेक्षाहरु पूरा गर्न नसक्दा निराशाजनक प्रतिक्रिया पाइरहेको छ । बक्स अफिसमा ‘जोकर २’ ले पहिलो सप्ताहन्तमा ४० मिलियन कलेक्सन गरेको छ । टड फिलिप्स निर्देशकीय यो सिनेमाले अन्तर्राष्ट्रिय बजारमै खराब ओपनिङको सामना गर्नु परिरहेको छ ।
चलचित्रले समीक्षक र दर्शक दुबैबाट नकारात्मक प्रतिक्रिया पाइरहेको छ । ‘जोकर २’ घरेलु बक्स अफिसमा नराम्ररी असफल भएको छ । यसको बक्स अफिसमा कमब्याक गर्ने सम्भावना पनि कम छ । यद्यपि, यसले अन्तर्राष्ट्रिय बक्स अफिसमा निराशाजनक व्यापार गरेको छ । यो सिनेमाले आफ्नो सुरुवाती सप्ताहन्तमा ७० बजारबाट ८१ मिलियन डलर कमाएको थियो ।
चलचित्रले अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्न सकेन । युके ‘जोकर २’को लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार थियो, जहाँ यसले ८ मिलियनको व्यापार गर्यो, त्यसपछि जर्मनीमा ६.९ मिलियन, इटालीमा ५.६ मिलियन, मेक्सिकोमा ५.५ मिलियन, फ्रान्समा ५ मिलियन र भारतमा ५ दिनको सप्ताहन्त पछि लगभग १.६५ मिलियन (कुल १४ करोड) को सङ्कलनका साथ खराब प्रदर्शन गर्यो ।
सन् २०१९ मा ‘जोकर’ले विश्वव्यापी रूपमा २४७ मिलियन डलरको ओपनिङ गरेको थियो । ‘जोकर २’को विश्वभर ओपनिङ १२१ मिलियन डलर छ, जुन नराम्रो हो । यो पहिलो भागको कमाईको भन्दा आधा कम हाे ।
‘जोकर २’ को नाममा दर्ता भयो यो नचाहिने रेकर्ड
सबैभन्दा ठूलो धक्का भने ‘जोकर २’ को नाममा बनेको नचाहिने रेकर्ड हो । ‘जोकर २’ ‘डी’ सिनेमास्कोर प्राप्त गर्ने पहिलो कमिक बुक फिल्म बन्यो । यो दोस्रो सबैभन्दा खराब सिनेमास्कोर रेटिङ हो, ‘एफ’ रेटिङभन्दा माथि । यो रेटिङ प्राप्त गर्ने पछिल्लो सिनेमा ‘द एक्सोर्सिज्म’ थियो, जुन कोभिड-19 महामारी पछि ‘डी’ सिनेमास्कोर पाउने अर्को फिल्म हो ।