karsang
Close Me

‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को प्रि-बुकिङ सुरु, कसले कति शो पाए ?

काठमाडौं । फूलपातीको अवसर पारेर असोज २४ गते अर्थात् बिहीबारबाट रिलिज हुन लागेको तीन नेपाली चलचित्र ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को प्रि-बुकिङ सुरु भएको छ । यी सिनेमाका लागि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आईएनआईलगायतका ठूला मल्टिप्लेक्सहरूले प्रि-बुकिङ खुला गरेका हुन् ।

क्यूएफएक्समा ‘छक्का पञ्जा–५’ले सबैभन्दा धेरै शो पाएको छ । काठमाडौं उपत्यकामा मात्र यसले ३८ शो पाएको छ, भने ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो पाएका छन् ।

काठमाडौं बाहिरको क्यूएफएक्स आउटलेटमा पनि ‘छक्का पञ्जा-५’ले उच्च शो पाएको, जहाँ यसले ४८ शो पाएको छ । कुल रूपमा क्यूएफएक्स चेनभर ‘छक्का पञ्जा–५’ले ८६ शो पाएको छ ।

यसैगरी, ‘१२ गाउँ’ले क्यूएफएक्सको काठमाडौं बाहिर २४ शो पाएको छ, र देशभर यसको कुल ४६ शो पाएको छ । ‘ज्वाइँ साब’ले काठमाडौं बाहिर १८ शो पाएको छ र क्यूएफएक्समा कुल ३९ शो प्रदर्शन हुनेछ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा पनि ‘छक्का पञ्जा–५’ले १४ शो पाएको छ। त्यस्तै ‘१२ गाउँ’ले ८ शो र ‘ज्वाइँ साब’ले ६ शो पाएका छन् ।

‘छक्का पञ्जा–५’को निर्देशन दीपाश्री निरौलाले गरेकी छन्, जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

बिराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’मा समीर भट्ट र बिराज भट्ट स्वयं मुख्य भूमिकामा छन् । ‘ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका हुन्, जसमा जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको छ ।

फरक शैली र दर्शक वर्गलाई लक्षित गर्दै प्रतिस्पर्धा गर्ने तयारी गरेका तीन वटै चलचित्र सँगै आउँदा कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा चलेको छ । ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ भन्दा ‘१२ गाउँ’ फरक जनरामा बनेको चलचित्र हो । ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ कमेडी जनरामा बनेका चलचित्र हुन् भने ‘१२ गाउँ’ एक्सन जनरामा बनेको सिनेमा हो ।

पहिला ‘छक्का पञ्जा’ टिमसँगै काम गरेका जितु नेपाल अहिले छुट्टै टिम बनाएर प्रतिस्पर्धा गर्न तयार छन् । यस चलचित्रले पनि दर्शकलाई मनोरञ्जन दिने उच्च अपेक्षा राखिएको छ।

तीन चलचित्रमध्ये सबैभन्दा नयाँ अनुहार समावेश भएको सिनेमा हो ‘१२ गाउँ’। यो सिनेमामा समीर भट्टको डेब्यू रहेको छ। विराज भट्टको छोराको रूपमा समीरले कस्तो अभिनय गर्नेछन् भन्ने चासो दर्शकमाझ छ।

अब फूलपातीको मिति नजिकिँदै गर्दा दर्शकहरू यी तीन चलचित्रहरूको भिडन्त कस्तो हुनेछ भन्ने प्रतीक्षामा छ । बक्स अफिसमा कसले बाजी मार्ला – ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’, वा ‘१२ गाउँ’ ? यो प्रश्न दर्शकले कत्तिको रुचाउने हुन् भन्ने उत्सुकता प्रदर्शनपछि मात्र थाहा हुनेछ ।