karsang
Close Me

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं । नेपाली संगीत क्षेत्रका एक प्रख्यात वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ। उनलाई केही दिनदेखि मस्तिष्कघातको कारणले काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइराखिएको थियो। उपचारकै क्रममा बल्लभको निधन भएको हो।

उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् ।

उनको निधनको खबर गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । थापाले बल्लभको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनको उपचारका लागि अर्थ संकलन अभियान समेत चलाएको जानकारी दिएका थिए ।

विश्व बल्लभ नेपाली साहित्य र संगीतमा आफ्नो अद्वितीय योगदानका लागि स्मरणीय व्यक्तित्व हुन् । उनका गीतहरू नेपाली संगीत क्षेत्रमा गहिरो छाप छोड्न सफल भएका छन् ।

तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।

बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।