karsang
Close Me

‘ह्रस्व दीर्घ’को टिजर: एउटै भाग्य भएका जोडीको जीवनमा आउने आरोह-अवरोहको कथा

काठमाडौं । बिहीबार फूलपातीको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ ।

आगामी कात्तिक ३० गते रिलिज हुने तयारीमा रहेको सिनेमाको टिजरले कथावस्तु र चरित्र चित्रणलाई सस्पेन्स र रोमान्सको समिश्रणमा प्रस्तुत गरेको छ ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुको अभिनय रहेको ‘ह्रस्व दीर्घ’ को टिजरमा एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । टिजरमा मुख्य पात्रहरूबाहेक अन्य संवाद वा दृश्यहरू देखाइएको छैन, जसले सिनेमाको कथालाई अझै रहस्यमय बनाएको छ।

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा देखाइएको २ मिनेट लामो टिजरमा राजनीतिज्ञको रुपमा अभिनेत्री विपना थापाको उपस्थिति गराइएको छ भने, अर्की अभिनेत्री रेखा थापालाई एक नामी ज्योतिषको भूमिकामा प्रस्तुत गराइएको छ ।

यस्तै टिजरमा हरिहरको सम्बन्ध अर्की अभिनेत्री गरिमा शर्मासँग पनि देख्न सकिन्छ । साउथका चर्चित कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहलाई पनि महत्वपूर्ण भूमिकामा देखाइएको छ ।

टिजरले दर्शकहरूको चासो र उत्सुकता बढाएको छ, जसले आगामी दिनमा आउने प्रचार सामाग्री कस्तो प्रभाव पार्ला भन्ने अनुमान लगाउन सकिन्छ ।

चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

‘ह्रस्व दीर्घ’ नीता फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो भने कार्यकारी निर्माताको जिम्मेवारी धनन्जय गलानीले निभाएका छन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । बलिउड छायाँकार कवीरलालले खिचेको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने जनाइएको छ ।