‘छक्का पञ्जा ५’: तीन दिनमा ५ करोड माथिको ग्रस
काठमाडौं । फूलपातीको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको चर्चित नेपाली चलचित्र ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्दै तीन दिनमै ५ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।
चलचित्रले पहिलो दिनमै २ करोडभन्दा माथि कमाइ गर्दै ‘छक्का पञ्जा’ सिरिजकै सबैभन्दा ठूलो ओपनिङ गर्ने नयाँ कीर्तिमान बनाएको छ । सिरिजका अघिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ले पहिलो दिन १ करोड ७० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको थियो भने ‘छक्कापञ्जा ५’ले यसलाई उछिन्दै २ करोडभन्दा माथि ओपनिङ गरेको हो ।
वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले दिएको जानकारी अनुसार चलचित्रले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा ५ करोड माथीको कमाइ गरेको छ ।
वितरक मनोज राठीले आर्टखबरलाई दिएको जानकारी अनुसार दशैँको विदाको समयमा चलचित्रले उत्कृष्ट व्यापार गरिरहेको छ । हालसम्म पूर्ण व्यावसायिक आँकडा उपलब्ध नभए पनि सिनेमाले चौथो दिनमा उच्च व्यापार गरेको छ ।
राठीले भने, “सिनेमाले सुरुवाती दिन देखिनै राम्रो व्यापार गरिरहेको छ, चौथो दिनमा पनि उत्साहजनक व्यापार जारी छ । अहिले सम्म देशब्यापी रुपमा चलचित्रले ५ करोड माथिको कलेक्सन गरिसकेको छ। यसमा केही प्रतिशत तल माथि हुन सक्छ दशैंको विदाका कारण पूर्ण डाटा आउन बाँकी छ, मंगलबारसम्ममा सम्पूर्ण डाटाको जानकारी आउने अपेक्षा छ ।”
चलचित्र ‘छक्का पञ्जा ५’ले २० करोड सम्मको व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
दीपाश्री निरौलाद्वारा निर्देशित यस चलचित्रले हाँस्यव्यंग्यका साथसाथै समाजमा व्याप्त भ्रष्टाचार र सरकारी सेवामा हुने अनियमिततामाथि प्रहार गरेको छ । दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको यो सिनेमामा अन्य थुप्रै लोकप्रिय कलाकारहरूको समेत अभिनय रहेको छ ।
‘छक्कापञ्जा ५’लाई श्री व्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गरेको हो ।