दिव्या र करण आमने सामने, ‘सावी’को कथा चोरी गरेर ‘जिग्रा’ बनाएको आरोप

काठमाडौं । बलिउडमा हाल एक ठुलो विवादले ध्यान तानिरहेको छ । चर्चित सिनेमा निर्माता-निर्देशक करण जोहर र टी-सिरिजकी मालिक भूषण कुमारकी पत्नी एवम् अभिनेत्री दिव्या खोसला कुमारबीच तीव्र विवाद उत्पन्न भएको हो ।

विवादको शुरुवात आलिया भट्ट स्टारर चलचित्र ‘जिग्रा’ प्रदर्शनमा आएपछि भएको छ ।

दिव्याले ‘जिग्रा’ आफ्नो निर्माणमा बनेको चलचित्र ‘सावी’को स्क्रिप्ट चोरी गरेर बनाएको आरोप लगाएकी छन् । उनले आरोप लगाउँदै ‘जिग्रा’का निर्माताले आफ्नो सिनेमाको कथा चोरेको दाबी गरिन् । साथै, उनले थिएटरको तस्बिरहरू सेयर गर्दै सिनेमा हेर्ने दर्शकहरूको कमी रहेको बताउँदै, आलिया भट्टले आफूले टिकट किनेर चलचित्रको नक्कली कमाई देखाएको आरोप पनि लगाएकी छन् ।

दिव्याले शनिबार पोस्टमा लेखेकी थिइन्, ‘जिग्रा हेर्न सिटी मलको पीभीआरमा गए, थिएटर पूरै खाली थियो । वास्तवमा, जताततै सबै थिएटरहरू खाली हुँदैछन् । आलिया भट्टसँग साँच्चै धेरै हिम्मत छ, उनले आफैँ टिकट किनेर नक्कली सङ्कलन गरेको घोषणा गरिन् । मलाई अचम्म लाग्छ सशुल्क मिडिया किन मौन ? जनतालाई मूर्ख बनाउनु हुँदैन । असत्यमाथि सत्य ।’

यसको जवाफमा करण जोहरले सामाजिक सञ्जालमा नाम नलिईकन दिव्यालाई ‘मूर्ख’ भनेका छन् ।

करणको पोस्ट बाहिर आएपछि दिव्या खोसलाले जवाफमा लेखिन्, ‘सत्यले सधैं त्यसको विरुद्धमा उभिएका मूर्खहरूलाई उक्साउँछ । अर्को पोष्टमा उनले लेखेकी छन्, ‘जब तिमीले निर्लज्ज ढंगले अरूको चीज दाबी गरेर चोर्छौ, तब चुपचाप बसेर आफूलाई बचाउनु पर्छ । तपाईंसँग कुनै आवाज छैन र मेरुदण्ड छैन ।’

यो आरोप र प्रतिक्रिया सार्वजनिक भएसँगै बलिउडमा यो विवादले थप चर्चा पाएको छ।

दिव्याको चलचित्र ‘सावी’ ३१ मे २०२४ मा रिलिज भएको थियो, जसमा बहिनीले आफ्नो भाइलाई बचाउने कथामा आधारित थियो । जिग्रा ११ अक्टोबरमा रिलिज भएको हो, जुन कथावस्तुमा दिव्याको सिनेमासँग धेरै मेल खान्छ ।

दिव्याको टोलीले ‘जिग्रा’को ट्रेलर सार्वजनिक भएदेखि नै यसका निर्मातालाई ‘सावी’को कथा चोरेको आरोप लगाउँदै आएका छन् ।

शुक्रबार रिलिज भएको ‘जिग्रा’ले दुई दिनमा करिब १२ करोड कमाई गरेको आँकडा बाहिर आएको छ ।