विराज र समीरको ‘१२ गाउँ’ युट्युबमा छ्यापछ्याप्ती
काठमाडौं । फूलपातीको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको कही अंश हल प्रिन्ट भिडियो युट्युबमार्फत छ्यापछ्याप्ती लिक भएका हुन् ।
अन्य थुप्रै च्यानलमार्फत पनि ‘१२ गाउँ’का क्लिपहरू पब्लिस भइरहेका छन् । जसले निर्माण पक्ष र चलचित्रप्रेमीहरूमा चिन्ता थपेको छ ।
‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलबाट ‘१२ गाउँ’ को सम्पूर्ण अंश र ‘मज्जाको टिभी’ नामक च्यानलमा पनि ५८ मिनेटभन्दा बढीको हल प्रिन्ट भिडियो सार्वजनिक भएको थियो । यद्यपि, उक्त च्यानल अहिले अनपब्लिस गरिएको छ । तर, अन्य विभिन्न च्यानलहरू मार्फत सिनेमाका केही क्लिपहरू अझै पनि अपलोड भइरहेका छन् ।
चलचित्र लिक भएसँगै कपिराइट्स उल्लङ्घनका घटनामा निर्माताले कदम चालेका थिए, जसले गर्दा केही भिडियोहरू हटाइएका छन् ।
यसअघि चलचित्र ‘बेहुली फ्रम मेघौली’का दृश्यहरु टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा लिक भएपछि निर्माण पक्षले कानुनी कारबाहीको माग गरेका थिए । सिनेमाका क्लिपहरु फेसबुक, टिकटक, इन्टाग्राम, र ट्विटरमा भाइरल भएपछि निर्माता तथा अभिनेता निश्चल बस्नेतले गत साता नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
यता, बडादशैंको अवसर पारेर फूलपातीका दिन रिलिज भएको ‘१२ गाउँ’ले बक्सअफिसमा भने सानदार प्रदर्शन गरिरहेको छ । अधिकांश मल्टिप्लेक्समा चलचित्र हाउसफूल भइरहेका छन् । विराज भट्टका छोरा समिर भट्टको मुख्य भूमिका रहेको यस चलचित्रप्रति दर्शकको उत्साह उच्च रहेको छ ।
विराजले यो चलचित्रको दोस्रो श्रृंखला बनाउने तयारीमा रहेको संकेत सिनेमाको क्लाइमेक्सबाट दिएका छन् । चलचित्रको अन्त्य ‘ओपन इण्डिङ’ राखिएको छ, जसले कथा निरन्तर रहने सङ्केत गर्छ ।
‘१२ गाउँ’को कहानीमा प्रमुख पात्र प्रहरी अधिकारी (अभिनेता नरेन खड्का) अपराध अनुसन्धानमा संलग्न देखिन्छन् भने समिरको पात्र (अजय) एक रहस्यमय यात्रामा गएको देखिन्छ ।