‘छक्का पञ्जा-५’को चार दिनको ग्रसकलेक्सन साढे ६ करोड
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ ले बक्स अफिसमा आक्रामक प्रदर्शन गर्दै चार दिनमै ६ करोड ५० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
पाँचौं दिनमा प्रदर्शनरत यो लोकप्रिय सिरिजको पाँचौं संस्करणले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्दै सुरुदेखि नै दर्शकको ध्यान खिच्न सफल भएको छ, र सिनेमाका अधिकांश शोहरू हाउसफूल भइरहेका छन् । चलचित्रले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा ५ करोड माथीको कमाइ गर्न सफल रहेको थियो ।
चलचित्रका कलाकार र निर्माता दीपकराज गिरीका अनुसार सिनेमाले चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन भएको छ ।
‘छक्का पञ्जा–५’ ले पहिलो दिनमै २ करोडभन्दा माथि कमाइ गर्दै ‘छक्का पञ्जा’ सिरिजकै सबैभन्दा ठूलो ओपनिङ गर्ने नयाँ कीर्तिमान बनाएको छ । साथै, यो ले २० करोड सम्मको व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
यो सिनेमालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यस चलचित्रले हाँस्यव्यंग्यका साथसाथै समाजमा व्याप्त भ्रष्टाचार र सरकारी सेवामा हुने अनियमिततामाथि प्रहार गरेको छ ।
दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको यो सिनेमामा प्रकाश घिमिरे, आर्यन सिक्देल, तेज गिरी र निर्मल शर्माको पनि अभिनय रहेको छ ।
चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ, जसले गर्दा यो नेपाली सिनेमा उद्योगको अर्को ठूलो सफलतामा दरिन सक्ने देखिन्छ ।
‘छक्कापञ्जा ५’लाई श्री व्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गरेको हो ।