karsang
Close Me

निश्चल बस्नेतले किन दिए हलहरूको विकल्प खोज्ने चेतावनी ?

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सिनेमा हलहरूले हिन्दी चलचित्रलाई प्राथमिकता दिएको भन्दै गहिरो असन्तुष्टि जनाएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश सार्वजनिक गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारले नेपाली सिनेमा क्षेत्रमा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन् ।

उनले विशेषगरी असोज १७ गतेदेखि प्रदर्शनमा आएको आफ्नो पछिल्लो चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई सिनेमा हलहरूले पर्याप्त शो नदिई हिन्दी चलचित्रहरूलाई बढी शो दिएको गुनासो गरेका छन् ।

बस्नेतले लेखेका छन्, “राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाइँहरू चाहिँ हिन्दी फिल्मलाई नै शो दिइराख्नु है। म चाहिँ हलको विकल्पतिर लागेँ।”

‘बेहुली फ्रम मेघौली’ जसमा बस्नेत र उनकी पत्नी स्वस्तिमा खड्काले मुख्य भूमिका निभाएका छन् । प्रदर्शनको पहिलो हप्तामा करिब ३३५ शो पाएको थियो । यो शो सङ्ख्या इतिहासकै सबैभन्दा धेरै शो प्राप्त गर्ने नेपाली चलचित्रको रुपमा दर्ता भएको थियो । तर, दोस्रो हप्ता प्रवेश गरेपछि अन्य नयाँ नेपाली चलचित्रहरू ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’, साथै हिन्दी चलचित्र ‘जिग्रा’ रिलिज भएपछि ‘बेहुली फ्रम मेघौली’को शो सङ्ख्या अचानक घटाइएको छ ।

बस्नेतले यस कदमलाई अन्यायपूर्ण ठहर्याउँदै हिन्दी चलचित्र ‘जिग्रा’ले अपेक्षाकृत कम दर्शक हुँदा समेत आफ्नो चलचित्रभन्दा बढी शो पाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार ‘बेहुली फ्रम मेघौली’ले राम्रो दर्शक उपस्थितिसहित सकारात्मक समीक्षा पाएको भए पनि हिन्दी चलचित्रलाई प्राथमिकता दिइनु गलत ठम्याएका छन् ।

गत वर्ष पनि निश्चलको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’को प्रदर्शनका बेला सिनेमा हलहरूले मुनाफाको ५० प्रतिशत हिस्सा नदिएपछि बस्नेतले चलचित्र उतार्ने चेतावनी दिएका थिए । यसले हल सञ्चालकहरूलाई निर्माताको माग पूरा गर्न बाध्य बनाएको थियो ।

निश्चलको यो आक्रोश र चेतावनीले नेपाली चलचित्र उद्योगमा फेरि एकपटक हल सञ्चालकहरू र चलचित्र निर्माता/निर्देशकहरूबीचको सम्बन्धलाई उजागर गरेको छ ।