‘गाउँ आएको बाटो’को गीतमा, पूर्वी पहाडमा गाडीसँगै आएको दुःखको कथा
काठमाडौं । पूर्वी पहाडको एक निम्नबर्गीय परिवारले ६० को दशकमा कस्तो समस्या भोग्यो होला ? विकासको मूल फुटाउने अपेक्षा गरेर गाडी आउँदा फूलमाला गरेको परिवार त्यही सडक र गाडीबाट कसरी प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित भयो होला ? जिन्दगीले मुहार फेर्ने सपना बोकेर वर्षौंदेखि गाडी आउने बाटोमा आँखा विछ्याएर बसेको परिवार गाउँमा गाडी प्रवेश गरेको केही वर्षमै कसरी भारी मन बनाएर गाउँ छोड्ने निर्णयमा पुग्छ होला ?
जान्ने मन छ ? छ भने चलचित्र ‘गाउँ आएको बाटो’को गीत ‘राई माहिला…’ हेरे पुग्छ । गीतले गाउँको कथा भनेको छ । गीतको कथालाई थप अर्थ्याउन र उकास्न बनेको भिडियोले गाउँ छोड्न विवस भएको परिवारको कथा देखाएको छ ।
गाउँको गरिब परिवार जो गाउँमा डोका, मान्द्रा, नाङ्ला र चित्रा बनेर परिवारका न्यूनतम आवश्यकता धानिरहेको छ । छोरालाई ३० रुपैयाँको कालो चस्मा किन्न सकेका दिन संसार जितेको खुसी घर भित्रिने परिवार कसरी आफ्नो थातथलो नै छोडेर हिँड्ने कठोर निर्णयमा पुग्छ ? गीतले प्रष्टै पारेको छ ।
एउटा मान्छेले गाउँ छोड्दाको असरलाई गीतले देखाएको छ । देखिनलाई संख्यामा एउटा परिवारले गाउँ छोडे पनि त्यसले पर्ने र पार्ने चौतर्फी असरलाई गीतमा देखाइएको छ ।
एउटा परिवारले गाउँ छोड्दा गाउँलेको विवाहमा एउटा जन्ती घट्छ, गाउँले मर्दा एउटा मलामी घट्छ, बिरामी पर्दा थेगभर गर्ने मान्छे घट्छ, खेत खन्ने खेताला घट्छ । अन्ततः समग्रमा गाउँको सह नै जान्छ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ ।
कतिका लागि खुसी लिएर आएको सडकले कतिका लागि आँसु पनि सँगै लिएर आएको कटु यथार्थलाई गीतले देखाएको छ । ‘राई माइला’ बोलको गीतले पूर्वेली राई समुदायको संस्कार र संस्कृतिलाई देखाएको छ । श्रीमान र श्रीमतीको नोकझोक र ठाससुस, खुसी र पीर, संघर्ष र निकट भविश्यप्रतिको मनमा रहेको दर्दलाई गीतको भिडियोले समेटेको छ ।
गीतमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, पशुपति राई, प्रशन राई र प्रेम सुब्बाको जीवन्त अभिनयले गीतमा प्राण भरेको छ । दयाहाङले अहिलेसम्म गरेका चलचित्रको अभनियलाई चार मिनेटको भिडियोमा उनले पाएको समयले छायामा पारिदिएको छ । पशुपति राईको अभिनय अभिनयजस्तो लाग्दैन । ननएक्टरबाट थाहै नपाई लिएको सिन झैँ लाग्छ ।
श्रवण मुकारुङका शब्दले दर्शक स्रोतालाई आफू बाँचेको गाउँमा पुर्याउँछ । गीतको पहिलो लाइनले नै आफूले गाउँ छोड्दा र आफन्त वा छिमेकी बसाइ सर्दाको वियोगान्त भावमा पुर्याइदिन्छ ।
सुनिता थेगिमको स्वर रहेको गीतमा कालीप्रसाद बास्कोटाले भरेको संगीत छ । संगीतले टपक्कै पूर्वी नेपालको भाका समेटेको छ । गाउँका आम गाउँलेले भोगेको र भोगिरहेको कथा भनेको छ ।
नवीन सुब्बाको निर्देशन रहेको चलचित्र जेठ २५ गते रिलिज हुनेछ । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् ।
टोरोन्टो र बुसानलगायत दुई दर्जन फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।
यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।