karsang
Close Me

शो संख्यामा ‘छक्का पञ्जा-५’लाई भेट्यो ‘१२ गाउँ’ले, वितरक भन्छन्- अब चाँडै उछिन्छ

काठमाडौं । दसैँको बिदा पारेर बिहीबारदेखि घरलु बक्सअफिसमा तीन नयाँ प्रदर्शनमा आए । जसमध्ये दुई चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’बीच कडा टक्कर देखिएको छ ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले छैटौँ दिनसम्म आइपुग्दा दुबै चलचित्रलाई काठमाडौंबाट समान शो प्रदान गरेको छ । सुरुमा ‘छक्का पञ्जा–५’ लाई ३८ शो दिइएकोमा, ‘१२ गाउँ’लाई २२ शो दिइएको थियो । तर छैटौँ दिनमा आएर दुबै चलचित्रलाई क्यूएफएक्सले काठमाडौं उपत्यकामा समान ३१/३१ शो दिइएको छ। यसरी हेर्दा यी दुई चलचित्रबीचको प्रतिस्पर्धा थप चर्किएको छ ।

‘१२ गाउँ’ वितरक गोविन्द शाहीका अनुसार सिंगल थिएटरहरूमा भने सुरुदेखि नै क्रेज बढी रहेको बताउँछन् । उनले यो चलचित्रले सिंगल थिएटरसँगै मल्टिप्लेक्समा समेत बढी दर्शक तानिरहेको बताए । यतिबेला दशैभर ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई शो संख्यामा बराबरी गर्दै आएको छ र चाँडै नै शो संख्यामा पनि उछिन्ने सम्भावना देखिएको उनको दाबी छ ।

अन्य मल्टिप्लेक्सहरूमा भने स्थिति मिश्रित छ । कतिपय मल्टिप्लेक्सहरूमा ‘छक्का पञ्जा–५’को शो धेरै देखिन्छ भने कतिपयमा ‘१२ गाउँ’ले अग्रता लिएको छ । अनलाइन टिकट बुकिङ खल्ती एप मार्फत हेर्दा आज दुई चलचित्रको शो संख्या १७३-१७३ रहेको छ ।

तराई क्षेत्रमा भने यी दुई चलचित्रबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। त्यहाँ दर्शकहरूको चासोमा खासै फरक छैन । तर, ‘१२ गाउँ’प्रति दर्शकहरूको क्रेज विशेष रूपमा उल्लेखनीय देखिएको र सिनेमा हेर्ने दर्शकले ‘१२ गाउँ’को टिकट पाउन मुश्किल भएसँगै उनीहरुले विकल्पको रूपमा ‘छक्का पञ्जा–५’ हेरेको बताइएको छ ।

रंग पत्रकार मनिष अन्जान सामाजिक सञ्जालमा लेख्छन्, “बरु ‘छक्का पञ्जा–५’ को टिकट पाइन्छ, तर ‘१२ गाउँ’ को टिकट पाउन निकै गाह्रो छ।”

यस्तो छ उनको स्ट्याटस- तराई क्षेत्रमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को टक्करको व्यापार छ । बरु ‘छक्का पञ्जा ५’को टिकट पाइएला तर ‘१२ गाउँ’को पाउन मुश्किल छ । एक्सन फिल्मप्रति यो किसिमको क्रेज करिब एक दशकपछि देखिएको हो ।
मैले कतिसम्म देखेको छु भने ‘१२ गाउँ’को टिकट नपाएकाले दर्शकहरु ‘छक्का पञ्जा ५’ हेरिरहेका छन् । एक्सन फिल्म हेर्न दर्शक कति अधैर्य भएर बसेका रहेछन् भन्ने यो एउटा प्रमाण हो । सम्भवतः अब एक्सन फिल्मको युग सुरु हुनसक्छ । र, समीर भट्ट ‘एक्सन युग’ हाँक्ने नायक बन्न सक्छन् । युवापुस्तामा उनको गजबको क्रेज देखिएको छ ।

तराई क्षेत्रमा ‘छक्का पञ्जा ५’ पनि उस्तै आक्रामक छ । पारिवारिक दर्शक यसरी उर्लिएका छन्, मानौं दशैं नै यही फिल्म हो । तराई क्षेत्रमा ‘ज्वाइँ साब’ भने कमजोर नै देखिएको छ ।

चलचित्र ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका हुन् । जसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा देखिएका छन् । न्यान्सी खड्का, शनिसा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

एक्सन जनराको यो सिनेमाले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ । विशेषगरी यस सिनेमाबाट डेब्यु नायक समीर भट्टको लोकप्रियता युवापुस्तामा बढ्दै गएको देखिन्छ, कतिपयले उनलाई आगामी एक्सन सुपरस्टार भएको बताउँछन् ।

त्यस्तै, ‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्, र यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा’ फ्रेन्चाइजको यस पाँचौं संस्करणले पनि दर्शकहरूलाई मनोरञ्जन दिइरहेको छ र उच्च अकुपेन्सीमा चलिरहेको छ ।

यी दुवै चलचित्रले हाल प्रायः हाउसफुल अकुपेन्सीमा प्रदर्शन गरिरहेका छन् । दर्शकहरूको मन जित्न सफल यी चलचित्रहरूले नेपाली फिल्म उद्योगमा नयाँ उचाइ कायम गरेका छन्, जसको प्रभाव आगामी दिनहरूमा अझै देखिनेछ ।