सलमानलाई ज्यान मार्ने धम्की दिँदै विश्नोई ग्याङद्वारा ५ करोड रुपैयाँ माग
काठमाडौं । चर्चित बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । यो धम्की सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि मुम्बई ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप मार्फत आएको हो ।
बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । यसपछि सलमानको सुरक्षा बढाइएको छ । उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
व्हाट्सएप म्यासेजमा धम्की दिने व्यक्तिले आफूलाई कुख्यात लरेन्स गिरोहको सदस्यको रूपमा चिनाएको छ र ५ करोड रुपैयाँ माग गरेको छ ।
मुम्बई प्रहरीले बताए अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, “यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन चाहन्छन् र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । यदि पैसा नदिए, सलमानको हालत बाबा सिद्दिकीको भन्दा पनि खराब हुनेछ ।”
मुम्बई प्रहरी धम्की दिने व्यक्तिको खोजीमा सक्रिय रहेको बताएको छ । सलमान खानलाई मुम्बई प्रहरीले यस विषयमा गम्भीर रहन सल्लाह दिएको छ, र उनको सुरक्षा अझ कडा पारिएको छ।
यो घटना पहिलो पटक होइन, सलमानलाई यसअघि पनि पटकपटक ज्यान मार्ने धम्की आइरहेको छ । यस अघि जनवरी २०२४ मा, अप्रिल २०२३ मा, मार्च २०२३ मा, जुन, २०२२ मा सलमानलाई ज्यान मर्ने धम्की दिइएको थियो ।
लरेन्स बिश्नोई गिरोहले सन् २०२२ मा सलमानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाएको घटनाको जिम्मेवारी पनि लिएको थियो ।
बिश्नोई समुदायले १९९८ मा ‘हम साथ साथ हैं’ फिल्मको सुटिङका क्रममा राजस्थानमा कालो हरिणको शिकार गरेको आरोप लगाउँदै सलमानको विरोध गरिरहेका छन् भने ग्याङ्गस्टर लरेन्स समूहले मार्ने धम्की दिँदै आएका छन् ।
कालो हरिणको घटनामा सलमान बाहेक सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलम कोठारीलाई पनि आरोप लागेको थियो । यस मुद्दामा सलमानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाए पनि पछि जमानत पाएका थिए ।