बाढीले बगाएको बस्ती पुनर्निर्माण गर्दै ‘छक्का पञ्जा’ टिम, दीपक भन्छन्– मन खोलेर सहयोग गर्छौं
काठमाडौं । ‘छक्का पञ्जा–५’को टिमले बाढीपीडितका लागि सहयोग गर्ने भएको छ । चलचित्रको छायांकन भएको ठाउँ बाढीले बगाएपछि निर्माण टिमले सहयोग गर्ने भएको हो ।
“हामी छायांकन गरेर आएको केही दिनमै आएको बाढीले गाउँ नै बगाएको छ । त्यहाँ हामी सहयोग गर्नेछौँ,” दीपकराज गिरीले भने, “मंगलटार र दाप्चाबाट हामीलाई सहयोगका लागि फोन आइरहेको छ । त्यहाँ हामीले सकेको सहयोग गर्नेछौँ ।”
आर्थिक र भौतिक सहयोग गर्ने दीपकले प्रष्ट पारेका छन् । उनले बाढीले बगाएको गाउँमा पुनर्निर्माण गर्ने प्रष्ट पारे । “यी कलाकार सुटिङका बेलामा मात्रै आउँछन्, दुःख परेका बेला आउँदैनन् भन्नेछ । त्यो कुरा चिर्नु पनि पर्छ,” उनले भने, “अघिल्लोपटक हामीले एम्बुलेन्स किनेर दिएका थियौँ । यो पटक त्यति सहयोगले भएन, पुनर्निर्माण नै गर्नेछौँ ।”
दीपकले कति सहयोग गर्ने अमाउन्ट भने तोकेनन् । तर मन खोलेर सहयोग गर्ने बताए । “अहिले यति भनेर अमाउन्ट नै तोकेर भन्दा राम्रो नसुनिएला । तर हामी यो पटक मन खोलेर ठूलो सहयोग गर्दैछौँ,” दीपकले अगाडि थपे, “हामी आर्थिक सहयोग मात्रै गर्दैनौँ, आफैँ उपस्थित भएर भौतिक रुपमै पुनर्निर्माणमा जुट्ने छौँ ।”
अहिले नै सहयोगका लागि आग्रह आइरहे पनि सिनेमा रिलिज र प्रदर्शनको काम पनि सकियोस् र चाडपर्व पनि सकिएपछि पुनर्निर्माणको काम गर्छौं भनेर स्थानीयलाई भनेको उनले जानकारी दिए ।
चलचित्र ‘छक्का पञ्जा–५’ फूलपातिका दिन प्रदर्शन भएको थियो । यो चलचित्रले सिरिजका सबै रेकर्ड तोड्दै ओपनिङ गरेको र त्यसयता पनि त्यही लयमा ब्यापार गरिरहेको दीपकले बताएका छन् । पहिलो हप्ताको ग्रसकलेक्सन रिपोर्टमा पनि अघिल्ला सिरिजहरूलाई पछि पारेको उनले प्रष्ट पारेका छन् । पहिलो हप्तामा यो चलचित्रले १० करोड कलेक्सन गरेको छ ।
दीपाश्री निरौलाले निर्देशन गरेको सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, निर्मल शर्मालगायत कलाकारको अभिनय छ ।