गाउँको कथापछि डायस्पोराको कथा देखाउँदै घनश्याम

काठमाडौं । निर्देशक घनश्याम लामिछाने गाउँको कथापछि अब नेपाली दर्शकलाई डायस्पोराको कथा देखाउने तयारीमा छन् । निर्देशक लामिछाने ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु नेपाली परिवेशकै रहेकाे बताउँछन् । विदेशमा बस्ने नेपालीको कथा रहेकाे उनकाे भनाइ छ ।

“लण्डन टु पेरिस हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो । हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो”, घनश्याम भन्छन्, “मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो सिनेमा बनाएका हौं । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु ।”

डायस्पोराको कथा यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा ‘लण्डन टु पेरिस’मार्फत उनले देखाउन लागेका हुन् । आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने लण्डनमा छायांकन गरेका छन् ।

घनश्याम सिनेमा हेरिरहँदा दर्शकले कथाबाहिर गएजस्तो नलाग्ने बताउँछन् । “सिनेमाका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । सिनेमा अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका सिनेमा हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ”, घनश्याम भन्छन् ।

घनश्यामलाई नेपाली समाज, संस्कृति, भूगोलसँग जोडिएर काम गर्दा आनन्दको अनुभव हुँदोरहेछ । अझ राम्रो कलाकार र स्क्रिप्ट भएमा त्यसले आफूलाई झन खुलेर काम गराउने वातावरण दिने उनको बुझाइ छ । “राम्रो कलाकार र स्क्रिप्ट छ भने त्यसले मलाई चुनौती वा जोखिम दिँदैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन”, घनश्यामको भनाइ छ ।

उनले सिनेमाको कथा अनुसार नै मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गर्न केही समय लागेको खुलाए । “सिनेमाको कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर भए पनि हामीले उनलाई सिनेमामा लियौं । हाम्रो सिनेमामा प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतीकरण फरक छ”, उनी भन्छन् ।

उनले सिनेमाको कथालाई सिनेमाका ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । ‘सिनेमाको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले सिनेमाको कथा भन्दा पर गएर खिचेका छैनौं । जे चाहिने हो त्यही खिचेका छौं,” उनले भने ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यु गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।