karsang
Close Me

‘१२ गाउँ’ जसले रिलिजअघि ‘छक्का पञ्जा’लाई चुनौती दियो, पछि पछाडि पार्‍यो

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले अनपेक्षित रूपमा ‘छक्का पञ्जा–५’लाई धेरै पछाडि पारेको छ । रिलिजअगाडि फूलपातीका दिन एकै दिन रिलिज हुने निर्णय गर्दै नेपाली सिनेमा उद्योगकै ब्रान्ड ‘छक्का पञ्जा-५’लाई चुनौती दियो ।

अक्सर धेरै सिनमा ‘छक्का पञ्जा’ रिलिज हुने डेटमा आफ्नो सिनेमा लगाउँदैनन् । किनकी यसको ब्रान्डसँग डराउँछन् । त्यसैले यो सिनेमासँग पंगा लिनु भनेको आफ्नै लगानी डुबाउनु हो भनेर निर्माता आफैँ अर्को रिलिज डेट खोज्नतर्फ लाग्छन् ।

वितरकसमेत हिन्दी सिनेमा लगाउन समेत डराउँछन् । यसको इतिहास नै छ ।

तर, ‘१२ गाउँ’ले चुनौती दिँदै ‘छक्का पञ्जा–५’सँगै आउने निर्णय गर्यो । सुरुमा ‘छक्का पञ्जा–५’ले भन्दा झण्डै आधा शो पायो । तर विस्तारै पिकअप बढाउँदै जाँदा एक सातामा ‘छक्का पञ्जा-५’सँग शो संख्या बराबरी गर्यो ।

त्यसपछि विस्तारै यसले ‘छक्का पञ्जा-५’लाई पछि पार्यो । अहिले शो संख्या ‘छक्का पञ्जा-५’को भन्दा ‘१२ गाउँ’के धेरै नै बढी छ । अकुपेन्सी पनि लोभलाग्दो छ । जति क्रेज बढाउँदै गयो त्यति नै शो संख्या थप्दै गयो ।

एक्सन फिल्म प्राय युथलक्षित हुन्छ अथवा यसको टार्गेट ग्रुप युवा पुस्ता हो भनिन्छ । तर ‘१२ गाउँ’ हेर्न केटाकेटीदेखि वृद्धवृद्धासम्म आएका छन् ।

‘१२ गाउँ’ले ‘छक्का पञ्जा-५’लाई पछि पारेको यो शो संख्याले प्रष्ट पार्छ । देशकै ठूलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले आजका लागि ‘१२ गाउँ’लाई काठमाडौं  उपत्यकामा ३१ शोज उपलब्ध गराएको छ भने ‘छक्का पञ्जा-५’ लाई २३ शोज दिएको छ ।

उपत्यकाका बाहिर पनि क्यूएफएक्सले ‘१२ गाउँ’लाई नै बढी शोज दिएको छ । यसले क्यूएफएक्समा कुल ७२ शोज पाएको छ । ‘छक्का पञ्जा ५’लाई क्यूएफएक्सले ५७ शोज दिएको छ ।

यस्तै अन्य मल्टिप्लेक्सहरूमा समेत ‘१२ गाउँ’ अगाडी रहेको छ । दोस्रो ठूलो मल्टिपेलेक्स चेन आइएनआइ सिनेमाजमा भने दुबै चलचित्रले बराबरी शो पाएका छन् ।

अर्को मल्टिपेलेक्स चेन वान सिनेमाजमा ‘१२ गाउँ’ले ११ शो पाउदाँ ‘छक्का पञ्जा ५’ले ९ शो पाएको छ । देशभरका अधिकांश सिनेमा हलहरूको साइट हेर्दा ‘१२ गाउँ’को शो ‘छक्का पञ्जा–५’ भन्दा धेरै नै देख्न सकिन्छ ।