karsang
Close Me

‘साइबर सेना’को कमान्डरको रुपमा चित्रित गरेपछि सन्तोषको कटाक्ष

काठमाडौं । दशैंको फूलपातीको अवसरमा रिलिज भएका चलचित्र ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका छन् । तर, यी दुई सिनेमाका उच्च व्यापार गरिरहँदा एउटा विषय भने प्रदर्शन अगावैबाट चर्चाको विषय बनेको छ ।

‘छक्का पञ्जा ५’ का निर्माता तथा कलाकार दीपकराज गिरी टिमबाट रिलिजको चरणमा आफूहरू विरुद ‘१२ गाउँ’का तर्फबाट साइबर सेना’ प्रयोग गरेको तर्क गरेका थिए ।

उक्त समयमा ‘छक्का पञ्जा ५’ टिमले आफ्नो सिनेमामाथि अनलाइनबाट भइरहेको नकारात्मक प्रचारलाई ‘साइबर सेना’ भनेर सम्बोधन गरेका थिए । यता, पत्रकार प्रकाश सुवेदीले अन्तर्वार्तामा सेनको नाम उल्लेख गर्दै ‘कमान्डर’को उपनाम दिएपछि दीपकराजले आफूले पनि सन्तोष सेनलाई ‘साइबर आक्रमण’को योजनाकारको रूपमा सुनेको प्रतिक्रिया दिएका थिए ।

सुवेदीको शोमा दीपकराजले भने, ‘उहाँ कमान्डर हो भन्ने कुरा मैले पनि सुनेको छु । तर, मलाई प्रमाण छैन । यदि उहाँले गरेको भए पनि केही गर्न सक्दिनँ ।’

गिरीको यो अभिव्यक्तिले ‘१२ गाउँ’का तथा समर्थकसँगै निर्माता सन्तोष सेनलाई समेत चिढ्याएको थियो । दीपकराजको उक्त भनाइलाई लक्षित गर्दै निर्माता सेनले प्रतिक्रिया दिँदै अन्यायपूर्ण रूपमा आलोचना गरेको बताएका थिए ।

सेनले बुधबार सामाजिक सञ्जालमा लामो भिडियो सन्देश जारी गर्दै गिरीको उक्त आरोपलाई अस्वीकार गर्दै आफूलाई ‘साइबर सेना’को कमान्डर भन्नु गलत भएको बताएका छन् । उनले भने, ‘यदि म दोषी छु भने मलाई जेल हाल्नुपर्छ। तर, बिना प्रमाण कसैलाई अपराधी करार गर्नु गलत हो।’

‘जसले उहाँहरुलाई भनेको हो, उसलाई कारबाही त गर्नुपर्छ । प्रकाश दाईलाई कसले भनेको हो त्यो मान्छे पनि ल्याउनुपर्‍यो अनि दीपक दाईले पनि मैले सुनेको हो भन्नुभएको छ । उहाँलाई सुनाउने मान्छे पनि ल्याउनुपर्‍यो । मान्छेलाई त्यतिकै लाल्छना लगाउन त मिल्दैन नि । यदि मैले गरेको हो भने मलाई थुन्नुपर्‍यो । गाली गर्ने समूह बनाएर मान्छेलाई डिप्रेसनमा पार्न सुहाउँछ मलाई ? त्यो हो भने मलाई थुन्नुपर्छ । मलाई जेल हाल्नुपर्छ । म जेल जान तयार छु’, उनले भनेका छन् ।’

सेनले ‘१२ गाउँ’का सन्दर्भमा आफूलाई लागेको आरोपहरूको खण्डन गरेसँगै ‘१२ गाउँ’ सफल भएकोले केही व्यक्तिहरूले त्यसको आलोचना गर्न थालेको आरोप लगाए ।

उनी भन्छन्, ‘दीपकराज गिरीले फिल्म उद्योग धानेको भन्ने कुरा सही होइन। उनले ठूलो कमाइ गरेका छन्, तर नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउन अझै धेरै गर्नुपर्ने छ।’

उक्त भिडियोमा सेनले समीरको आगमनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उदयसँग तुलना गरेका छन् ।उनले भनेका छन्, “जसरी बालेन शाह महानगरमा उदाए, समीर भट्ट पनि त्यही ढंगले आएका छन् । उनी पूर्णरुपमा तयार भएर फिल्म क्षेत्रमा आएका छन्, तर उद्योगले उनलाई साथ दिएको छैन ।” सेनले दुःख व्यक्त गर्दै थपे कि फिल्म उद्योगका अन्य व्यक्तिहरू समीरको आगमनबाट खुसी नभएको महसुस हुन्छ ।

अभिनेता विराज भट्टको छोराको रूपमा समीरको कडा परिश्रम र तयार पार्ने प्रक्रियाको प्रशंसा गर्दै सेनले भने, “विराजले समीरलाई १०-१५ वर्षसम्म कठोर ट्रेनिङ दिएर योद्दा बनाए । त्यो कुनै साधारण कुरा होइन। समीरले घुम्न जाने उमेरमा मेहनत गरेर आफूलाई तयार पारे। तर पनि इन्डस्ट्रीबाट उनलाई समर्थन मिलेन ।”

उनले समीर भट्टलाई मात्र नभएर सबै नयाँ कलाकारलाई समर्थन गर्न आग्रह गरे। “हामीले नयाँ अनुहारहरूलाई समर्थन गर्यौं भने फिल्मले राम्रो व्यापार गर्छ,” सेनले भने, “अब पुरानै ढर्रामा रमाएर मात्र हुँदैन। नयाँ अनुहारलाई स्वागत गर्नुपर्छ। समीरले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने क्षमता राख्छन् ।”

समीर भट्ट हाल सेनको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘बलिदान’को छायांकनमा व्यस्त रहेका छन्, जसको दोस्रो चरणको छायांकन छिट्टै सुरु हुने तयारीमा छ ।