‘पूर्णबहादुरको सारङ्गी’को रोधी छनकको ब्याटल गीत ‘रैया चाँदीको’

काठमाडौं । कात्तिक १५ गते रिलिज हुने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युब च्यानलमार्फत ‘रैया चाँदीको’ बोलको दोहोरी ब्याटल सार्वजनिक गरेको हो ।
गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ ।
भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् ।
ब्याटलमार्फत निर्माणपक्षले सिनेमाको गीतमा केही फरकपन दिन खोजेको छ । ब्याटलमा महिला र पुरुषका दुई टिम छन् । ब्याटल महिलाले राखेको सर्तसहित सुरु गरिएको छ । महिला टिमले जिते जन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने ब्याटलको सुरुमा सर्त छ ।
सर्तमा दुवै पक्ष मञ्जुर भएपछि सुरु हुने दोहोरी ब्याटलमा युवायुवतीको प्रेम, विवाह, घरजम, सन्तान, परिवार र सुखजस्ता पारिवारिक पक्ष समेटिएको छ । रोधीको पनि छनक यो ब्याटलमा देखिन्छ ।
ब्याटलमा महिलापक्षले हारेपछि सर्तमा मञ्जुर भएको गीत र यसको भिडियोमा देखिन्छ । तर, अन्जनाले ब्याटल जानीजानी हारेजस्तो देखिन्छ ।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।