अनमोल र प्रदीपपछि भिड्ने पालो दीपक र निश्चलको ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा दुइवटा ठूला ब्यानरका सिनेमा एकै मितिमा प्रदर्शन हुनु नौलो होइन । दुइवटा मात्रै होइन यसभन्दा धेरै चलचित्र एकै मितिमा आउँछन् । यससँगै हिन्दी र अंग्रेजी सिनेमा पनि थपिने गरेका छन् । जसका कारण शो बाडिन पुग्दा अपेक्षा गरेजस्तो ब्यापार हुँदैन । बजार बाडिदा मुनाफा पनि बाडिनु स्वभाविक हो ।
तर दुइवटा चलचित्र मात्रै आउदा भने ब्यापारमा खासै धेरै असर पर्दैन । यद्यपि, एक्लै आउनु र दुइटा एकै मितिमा आउनुले असर त पर्छ नै ।
जेठ १० गते अनमोल केसी र प्रदीपक खड्का मुख्य भूमिकामा रहेका चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ एकै दिन प्रदर्शनमा आए । जसका कारण शो बाँडियो । धेरै स्क्रिन भएकाले पर्याप्त शो त यी दुई चलचित्रले पाए । तर शोलो रिलिजको मौका पाउनु र दुइवटा एकै दिन आउनुमा फरक त पर्छ नै । पर्यो पनि ।
प्रदीप र अनमोलको भिडन्तपछि अब पालो निश्चल बस्नेत र दीपकराज गिरीको हुने देखिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले लामो समयपछि चलचित्र लिएर दर्शकमाझ आउँदैछ । ‘छक्का पञ्जा–५’ लिएर यो टिम दसैँमा आउँदैछ ।
फर्स्टलुक पोस्टर सार्वजनिक गरेको यो टिमले हरेक सिरिजमा भित्र्याउने नयाँ कलाकार पनि सार्वजनिक गरिसकेको छ । ‘छक्का पञ्जा–५’मा वर्षा शिवाकोटीले प्रवेश गरेकी छन् । बिहीबार पोस्टर सार्वजनिक गरेको यो चलचित्र छायांकनमा पनि गइसकेको छ ।
‘छक्का पञ्जा’का प्रायः अधिकांश सिरिज दसैँमा रिलिज हुँदै आएका छन् । गत वर्षको सिरिज भने फागुन १९ गते रिलिज भएको थियो ।
यही दसैँमा आउँदैछन्, निश्चल बस्नेत पनि । आफ्नो लगानी र अभिनय रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ लिएर दसैँमा आउने भएका हुन् ।
निश्चल र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र दसैँमा रिलिज गर्ने निश्चल र स्वस्तिमाले बताएका छन् । शनिबार फर्स्टलुक पोस्टर एकसाथ सार्वजनिक गर्दै निश्चल र स्वस्तिमाले यो दसैँमा भनेका छन् । दसैँ भने पनि कुन मितिमा आउँछ दिन भने उनीहरूले तोकेका छैनन् ।
‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा मुख्य भूमिकामा छिन् । चलचित्रको कथा साजन काफ्ले र आकाश बरालले लेखेका छन् । विवाहको कथा भन्ने यो चलचित्र निर्देशन साजन र आकाशले संयुक्त रूपमा गर्दैछन् । यसको फर्स्टलुकमा स्वस्तिमा छन् । शनिबार सार्वजनिक यो फर्स्टलुकको धेरैले तारिफ गरेका छन् । यो सिनेमा अहिले पोस्ट प्रोडक्सनमा छ ।
बिहीबार सार्वजनिक ‘छक्का पञ्जा–५’को पोस्टरमा प्रदर्शन मिति नै उल्लेख छ । असोज २४ गते रिलिज हुने उल्लेख छ ।
यी दुई चलचित्र एकै दिन रिलिज हुँदा पनि शो को धेरै कमी त हुँदैन । तर भएका स्क्रिन ५० प्रतिशत त बाँडिने नै हो । त्यसैले ब्यापारमा केही न केही त असर त पर्छ नै ।
अहिले प्रदर्शनरत चलचित्र ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी नजिकका समकालीन तथा सञ्चारकर्मीहरूसँग ‘सोलो रिलिजको अवसर पाएको भए पहिलो हप्तामै लगानी सुरक्षित गरेर नाफामा जाने रहेछ’ भनिरहेका छन् । यही अवस्था भोलि निश्चल र दीपकको पनि आउने त होइन ?
किन प्रतिक्षित बन्ने यी दुई चलचित्र एकै समयमा आउन लागे ? तर दसैँमा आउने भने पनि कुन दिन रिलिज हुने ‘बेहुली फ्रम मेघौली’ले तोकिसकेको छैन ।
तर दसैँमै किन यी चलचित्र आउन लागे ? दीपक र निश्चलले जोयन्ट भेन्चरमा काम गर्न लागेको कुनै समय नेपाली सिने उद्योगमा हल्ला थियो । तर उनीहरूबीच स्क्रिप्ट र कथ्य शैलीमा कुरा बाझिएपछि योजना अलपत्र परेको थियो । कतै त्यसको ‘इगो’ स्वरुप यी दुई मेकरका चलचित्र एकै समय आउन लागेका होइनन् ? हो भने आवेशमा होइन ठन्डा दिमागले निर्णय गरौँ । त्यसमै दुवै पक्षलाई फाइदा छ ।