एक विज्ञापनका कारण विवादमा परे नवाजुद्दीन, कानुनी कारबाहीको माग

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी हालै एक विज्ञापनका कारण विवादमा परेका छन् । एक हिन्दू संगठनले अभिनेतामाथि महाराष्ट्र प्रहरीको छवि बिगारेको आरोप लगाउँदै कानुनी कारबाही गर्न माग गरेका छन् ।

फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार हिन्दू जनजागृति समितिले मुम्बईका प्रहरी आयुक्त र महाराष्ट्रका प्रहरी प्रमुखलाई नवाजुद्दीनविरुद्ध कारबाही गर्न अपिल गरेको छ ।

अभिनेता सिद्दीकीले अनलाइन गेमिङको विज्ञापनमा प्रहरी अफिसरको भूमिका खेलेर महाराष्ट्र प्रहरीको छवि बिगारेको उनीहरुको आरोप छ ।

उक्त संस्थाले सिद्दिकीले प्रहरीको वर्दीमा अनलाइन बेटिंग एपको प्रचार गरेर प्रहरीलाई बदनाम गरेको आरोप लगाएको छ । उनको उक्त विज्ञापनले कानून प्रवर्तनको अपमान गरेको बताएको छ ।

सुराज्य अभियानका महाराष्ट्र राज्य संयोजक, अभिषेक मुरुकाटेले राज्यका डीजीपी र मुम्बईका पुलिस आयुक्तलाई पत्र लेखेर नवाजुद्दीन र अनलाइन गेमिङ एप मालिक अंकुर सिंहलाई कारबाही गर्न माग गरेका छन् । पत्रमा महाराष्ट्र सिविल सेवा (अनुशासन र अपील) नियम, १९७९ र महाराष्ट्र पुलिस अधिनियम १९५१ अन्तर्गत कडा कानुनी कारबाही गर्न आह्वान गरिएको छ ।

उक्त पत्रमा जुवा खेल्नेलाई पक्राउ गर्ने प्रहरीले नै यस विवादमा संलग्न भएको भन्दै चिन्ता व्यक्त गरेको छ । हिन्दू जनजागृति समितिले यो विज्ञापनको निन्दा गरेको छ । यो विषयलाई बेवास्ता गरिएमा प्रहरी पोशाकको दुरुपयोग गरी विज्ञापन गर्ने क्रम बढ्न सक्ने संस्थाको विश्वास छ ।

पत्रमा लेखिएको छ, ‘यसले महाराष्ट्र प्रहरीको छवि धमिलो पार्छ, यसलाई बेवास्ता गर्दा अवैध विज्ञापनको समस्या अझ बढ्न सक्छ । महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडणवीसलाई पनि यस विषयमा ध्यान दिन आग्रह छ ।’

अहिले सम्म कुनै पनि प्रहरी अधिकारीले यो गेमिङ एप विरुद्ध कारबाही नगरेकोमा दुःख व्यक्त गर्दै उक्त संस्थाले यसतर्फ गृहमन्त्रीको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरेको छ ।

मुरुकाटेले महाराष्ट्र पुलिसको कडा परिश्रमको प्रशंसा गर्दै यो विज्ञापनले अनलाइन जुवा खेल्दा उनीहरूको सीप बढ्छ भनेर देखाउँछ ।

अभिनेता सिद्दीकी हालै चलचित्र ‘अदभूत’ मा देखिएका थिए ।