karsang
Close Me

उल्टो बाटोमा हिँडेको जितुको ‘ज्वाइँ साब’

काठमाडौं । जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँ साब’ उल्टो बाटो हिँडेको सिनेमा हो । यसले सुरुमा हलमा अनपेक्षित रुपमा शोज पायो । तर जसरी शो पायो त्यसरी नै गुमायो पनि ।

सुरुमा ‘ज्वाइँ साब’ले ‘१२ गाउँ’कै हाराहारीमा शो संख्या पायो । जुन कमैले अपेक्षा गरेका थिए ।

तर ‘कसम बत्तिको’ गीत र ट्रेलरले हाइप बनाएपछि र सुरुमा सँगै काम गरेको ‘छक्का पञ्जा’ टिमको चलचित्र ‘छक्का पञ्जा–५’ सँग एकैदिन रिलिज हुने भएपछि यो सिनेमाको हाइप चुलियो । जसका कारण यसले राम्रो शो पायो ।

काठमाडौंमा क्यूएफएक्सले ‘१२ गाउँ’लाई २२ शो दिँदा ‘ज्वाइँ साब’लाई २१ शो दिएको थियो ।

तर, बिडम्बना अग्रिम टिकट बुकिङ पनि नहुँदा र डोर सेलबाट पनि टिकट बिक्री नहुँदा यो सिनेमाले शो बचाउन सकेन । पहिलो दिनबाट शो संख्या स्वाट्टै घट्यो । अधिकांश हलमा एक/दुई शोमा सीमित भयो ।

बिहीबार रिलिज भएको सिनेमाले सोमबारबाट विस्तारै पिकअप लियो । सिनेमा हेर्ने दर्शकले राम्रो रहेको बताएपछि वर्ड अफ माउथ राम्रो भयो । सिनेमाले जति शो पाएको थियो । त्यो करिब करिब हाउसफुल अकुपेन्सीमा चल्यो ।

त्यसपछि विस्तारै शो थपिए । दर्शकको अकुपेन्सी र शो बढेपछि ब्यापार पनि बढ्यो ।

अक्सर सिनेमाले सुरुमा थोरै शो पाउँछन् । वर्ड अफ माउथ राम्रो भएपछि शो थपिँदै जान्छ ।

‘१२ गाउँ’को पनि भएको त्यही हो । उसले विस्तारै शो थप्दै गएर सुरुमा करिब डबल शो बढी पाएको ‘छक्का पञ्जा–५’लाई करिब डबल कै संख्याले पछि पार्यो ।

तर ‘ज्वाइँ साब’ले सुरुमा पाएको शो बचाउन सकेन । त्यसैले सीमित शो संख्या रह्यो । पछि दर्शकले सिनेमा मन पराए । फेरि केही शो थपियो । त्यसैले यो सिनेमा उल्टो बाटो हिँडेको सिनेमा हो ।

पश्चिम नेपालमा धनगढीलगायत कतिपय शहरमा यो सिनेमालाई सुरुमा शो दिइएको थिएन । तर सुरुमा शो नदिने हलले नै पछि शो दिए ।

‘ज्वाइँ साब’ले दश दिनमा ३ करोड १५ लाख ग्रसकलेक्सन गर्यो ।

असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेममालाई वसन्त निरौलाले निर्देशन गरेका छन् ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, निती शाह मुख्य भूमिकामा छन् ।

बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।