सेभेन सिज इन्टरटेनमेन्टले किन्यो ‘ह्रस्व दीर्घ’, नेपालीसँगै हिन्दी भाषामा रिलिज हुने
काठमाडौं । कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ह्रस्व दीर्घ’ नेपालीसँगै हिन्दी भाषामा रिलिज हुने भएको छ ।
अभिनेत्री नीता ढुंगानाको लगानीमा बनेको सिनेमाको निर्माण टिमले शुक्रबार सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश प्रदर्शनको अधिकार बेच्दै सिनेमा नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो ।
निर्माण टिमले जानकारी दिएको अनुसार विदेशमा यो सिनेमा मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुबै भाषामा रिलिज हुनेछ । सेभेन सिजले यस सिनेमाको हिन्दी रिलिज अधिकार पनि खरिद गरेको छ, जसले गर्दा भारत लगायतका अन्य देशहरूमा पनि यसलाई बक्सअफिसमार्फत प्रदर्शन गरिने छ ।
भारतीय वितरकले पनि सिनेमाप्रति राम्रो चासो देखाएको बताउँदै चलचित्रका अभिनेता समेत रहेका हरिहर अधिकारीले नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात् यो सिनेमा तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘हाम्रो सिनेमाका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्राथमिकताका साथ रिलिज गदैछौं ।’
सिनेमाको कार्यकारी निर्माता धनन्जय गलानी छन् भने निर्देशक चन्द्र पन्तले यसलाई निर्देशन गरेका हुन् । पन्तको यो पहिलो नेपाली निर्देशन हो, जो यसअघि भोजपुरी सिनेमा तथा नेपाली सिनेमामा द्धन्द्व निर्देशन गर्दै आएका थिए ।
हरिहर अधिकारीद्वारा लिखित कथामा प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीकै पटकथा तथा संवाद रहेको छ । सिनेमाको सिनेमाटोग्राफी बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले गरेका छन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, र प्रदीप रावतसहित धेरै कलाकारहरूले अभिनय गरेका छन् ।
‘ह्रस्व दीर्घ’ को पोस्टर डिजाइन विजय वस्यालले गरेका हुन् भने मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले यसलाई वितरण गर्दैछन् ।