जब दयाहाङले गोरु चुटे, सिनेमेटोग्राफर क्यामेरा छोडेर किन दौडिए ?

काठमाडौं । नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ यही जेठ २५ गतेबाट रिलिज हुँदैछ । सिनेमाको मुख्य भूमिकामा छन्, चिरपरिचित अभिनेता दयाहाङ राई ।

भोजपुर, सङ्खुवासभा, धरानलगायत स्थानमा सुटिङ भएको चलचित्रमा दयाहाङ गोरुले खेत जोतेको सिन छ । ट्याक्टर नपुगेको ठाउँ पहाडमा खेत जोत्ने गोरुले नै हो ।

दयाहाङ खेत जोतिरहेका थिए । सिनेमेटोग्राफरले क्यामेरामा सिन कैद गरिरहेका थिए । त्यही बेला दयाहाङ (माइला)सँग पशुपति राई (माइली) गोरु चुटेको भन्दै रिसाउँछे । त्यहीबेला विदेश जान पनि नसकेको र अनावश्यक ठाउँमा रिस देखाएर अर्काको गोरु चुटेको भन्दै कराउँछे ।

श्रीमतीसँग श्रीमान् (दयाहाङ) रिसाउने सिन थियो । त्यही ठासठुस र नोकझोँकमा हलो जोतिरहेका दयाहाङ गोरु चुट्छन् । स्क्रिप्टमा गोरु दौडिँदा हलो उछिट्ट्एिर हलोमा खुट्टा अड्किएर दयाहाङ लड्ने सिन थियो । जस्तो भनेको त्यस्तै सिन भइरहेको थियो । हलोमा खुट्टा अड्किएर दयाहाङ लडे । त्यो देखेर सिनेमेटोग्राफर आत्तिएर कट गरे ।

त्यो सिन साँच्चै नै रियलजस्तै भइरहेको थियो । स्वयं दयाहाङलाई पनि चित्त बुझेको थियो । निर्देशक नवीन सुब्बाले पनि राम्रो भयो गज्जव भने ।

तर सिनेमेटोग्राफर आत्तिएर कट गरेर दयाहाङतिर दौडिए । सिनेमेटोग्राफरले होसै गुमाएर स्क्रिप्ट नै बिर्सिएर दौडिएछन् । साँच्चै नै उनी लडे भनेर सिनेमेटोग्राफर दौडिएका रहेछन् ।

पछि ६÷७ टेक लिँदा पनि त्यो सिन सुरुको जस्तो भएन । आर्टिफिसियल भयो । सिनेमेटोग्राफर पनि पछुताए । कहिलेकाँही टेक्निकल गल्तीका कारण पनि भनेजस्तो सिन खिच्न नसकिने र भएको सिन पनि बिग्रिने गरेको दयाहाङले ‘गाउँ आएको बाटो’मा अनुभव गरे ।

नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् ।

टोरोन्टो र बुसानलगायत दुई दर्जन फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।