karsang
Close Me

विजय बराललाई प्रश्न– सिनेमा चल्ने भाइब्स कत्तिको आइरहेको छ ?

काठमाडौं । अभिनेता विजय बरालले ‘पूर्ण बहादुरको सारङ्गी’को प्रचारमा मोफस टुर गर्दा सकारात्मक रेस्पोन्स पाएको बताएका छन् । हलहलमा पुग्दा र कार्यक्रमस्थलमा पुग्दा दर्शकले ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्ने हो भनेको उनले स्मरण गरे ।

“हलहलमा पुग्दा तपाईंको पूर्ण बहादुर त हेर्ने हो भन्दा हामी निकै उत्साही भएका छौँ,” विजय भन्छन्, “सहर घुमिरहँदाको प्रतिक्रिया र दर्शकको उत्साह देख्दा राम्रो भाइब्स आइरहेको छ ।”

तिहारको अवसर पारेर चलचित्र रिलिज हुन लाग्नु पनि व्यापारिक हिसाबले सफल हुनेमा उनी आशावादी छन् । यसअघि दशैँमा रिलिज भएका ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ चलेकाले पनि त्यसको सकारात्मक प्रभाव आफ्नो चलचित्रमा पनि पर्नेमा उनी ढुक्क छन् ।

“नेपाली सिनेमा हिन्दीभन्दा राम्रो चलिरहेको छ । हिन्दीभन्दा नेपाली चलचित्रलाई माया गर्ने दर्शकले हलमा हाम्रो सिनेमाको ट्रेलर बज्दा जुन रेस्पोन्स आइरहेको छ, त्यसले सिनेमा चल्छ भन्ने लागिरहेको छ,” विजय भन्छन्, “ट्रेलर र गीत हेरेर यो सिनेमा पनि हेर्नुपर्छ भनिरहनु भएको छ, यसले पनि पूर्ण बहादुरको सारङ्गी चल्छ भन्ने आशा छ ।”

इमोशन र कमिक भएको चलचित्रले पनि दर्शकको मन जित्दै आएको र त्यो दुवै पक्ष ‘पूर्ण बहादुरको सारङ्गी’मा भएकाले दर्शकले मन पराउनेमा उनी विश्वस्त छन् ।

“हाम्रो गीत र ट्रेलरमा जुन खालको विश्वास र प्रतिक्रिया दर्शकले दिइरहनु भएको छ, त्यसबाट पनि हामीलाई धेरै अपेक्षा छ,” उनी अगाडि थप्छन्, “हाम्रो टिम नै नयाँ, कथा नयाँ र सेट नै नयाँ भएकाले काम पनि केही नयाँ छ भन्ने लाग्छ । यो फरक स्वाद दर्शकले मन पराउनु हुन्छ भन्ने हाम्रो विश्वास हो ।”

नयाँ सिनेमालाई पछिल्लो समय दर्शकले गरिरहेको विश्वास र माया ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि पाउने अपेक्षा रहेको उनले सुनाए । ‘पूर्ण बहादुरको सारङ्गी’ यही कात्तिक १५ गतेबाट रिलिज हुँदैछ ।

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल मुख्य भूमिकामा छन् । उनीसँगै प्रकाश सपूत, मुकुन भुसाल, अन्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् ।

निर्माता विनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

पुस्तान्तरणसहित रुपान्तरणको कथा, कलाकार र निर्माता के भन्छन् ? के हो सेलिङ पोइन्ट ?

‘पूर्ण बहादुरको सारङ्गी’ र विजयको सिने करिअरको रुपान्तरण