‘भुल भुलैया–३’को भएन सेन्सर, दर्शकले काटेको टिकट के हुन्छ ?
काठमाडौं । बलिउड सिनेमा ‘भुल भुलैया–३’ शुक्रबारबाट रिलिज हुँदै छ । सिनेमा घरहरुले अग्रिम बुकिङ पनि खुलाइसकेका छन् ।
दर्शकले चलचित्रको टिकट पनि काटिसकेका छन् । तर बिडम्बना चलचित्र बुधबार राति ९ बजेसम्म सेन्सर भएको छैन । शुक्रबार बिहान सबेरैबाट प्रदर्शन हुने भनेर टिकट बेचिएको सिनेमाको सेन्सर बुधबार रातिसम्म भएको छैन ।
सेन्सर बोर्ड स्रोतका अनुसार भोलि बिहान सेन्सर बोर्डमा रहेका बहुमत सदस्य उपस्थित भएर सेन्सर गर्ने सम्भावना भने छ । तर यसका लागि बहुमत सदस्य अथवा ९ जनामध्ये कम्तीमा ५ जना सेन्सर बोर्डका सदस्य उपस्थित हुनुपर्छ ।
तिहारको बिदा भाेलिबाट सुरू भएकाले यदि भोलि बहुमत सदस्य उपस्थित भएनन् भने यो सिनेमाको सेन्सर पास हुने छैन । सेन्सर नभएसम्म चलचित्र रिलिज गर्न पाइँदैन ।
यदि, सेन्सर पास भएनन भने तिहार पछि मात्रै प्रदर्शनमा आउनेछन् । चलचित्र सेन्सर भएन भने दर्शकले किनेको टिकट चाहिँ के हुन्छ ?
सेन्सर भएन भने हालमा प्रदर्शनमा रहेका र भोलिबाट रिलिजमा आउने सिनेमालाई केही हदसम्म राहात हुनेछ । ‘भुलभुलैया–३’को शो अरु चलचित्रलाई हल ब्यबस्थापकले बाँडफाँट गर्नेछन् ।