प्रदीपलाई लिएर ‘सत्यवीर’को घोषणा
काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ ।
निर्माण टिमले बिहीबार प्रदीप चौधरीको फर्स्ट लूक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो ।
चलचित्र ‘होस्टेल रिटर्न्स’बाट ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको पोस्टरले सिनेमा क्राइम-थ्रिल शैलीमा रहने दर्शाउँछ । जसमा प्रदीपलाई आक्रामक लुक्समा देखाइएको छ, उनी रगत पोतिएको बञ्चरो लिएर उभिएका छन् र उनको अनुहार र पाखुरामा चोटका चिन्ह देखिन्छन् ।
‘सत्यवीर’लाई विराज खड्काले निर्देशन गर्नेछन् । एनिमेसन र भिएफएक्समा एक दशकभन्दा बढी समयदेखि सक्रिय रहेका खड्काको यो पहिलो निर्देशकीय सिनेमा हो ।
खड्काले ‘डिज्ने’, ‘पिक्सार’ जस्ता कम्पनिको लागि हलिउड चलचित्र ‘स्टार वार’, ‘लेगो’ लगायतमा भिएफएक्स र एनिमेसनको काम गरेका छन् । उनले नेपालमा ‘प्रेमगीत ३’, ‘बाँबरी’, ‘कांडेतार’ लगायतका दर्जनौं सिनेमामा भिएफएक्स सुपरभाइजरको काम गरेका छन् ।
निर्माता आदेश सुब्बा रहेको ‘सत्यवीर’को छायांकन आगामी डिसेम्बर महिनाबाट सुरु हुने जनाइएको छ ।
निर्माण पक्षका अनुसार चलचित्रको ४० प्रतिशत दृश्य भिएफएक्सको प्रयोगबाट तयार गरिनेछ भने बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनमा खिचिनेछन् ।
करिब साढे २ करोड लागतमा निर्माण हुने ‘सत्यवीर’को कथा प्रदीप चौधरीको नै हो ।
निर्माण पक्षले कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक अन्य ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गराएको छैन । तिहार लगत्तै फिल्मका अन्य कलाकारहरूको उपस्थिति सार्वजनिक गर्दै वर्कसपमा जुट्ने निर्माण टिमले बताएको छ ।