यसरी लागेको थियो विजयको सिनेमामा उकालो ग्राफ
काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यतिबेला सिनेमा हलमा हिन्दी चलचित्रलाई समेत पछि पार्दै प्रदर्शन भइरहेको छ । विजय बरालको मुख्य भूमिका रहेको चलचित्र हाउसफूल अकुपेन्सीसहित चलिरहेको छ ।
सिनेमामा विजयको अभिनयको तारिफ भइरहेको छ । सहायक भूमिकामा अभिनय गर्दै आएका विजयले मुख्य रोलमा काम गरेको यो पहिलो चलचित्र हो । अर्थात् उनी हिरो भएको यो पहिलो चलचित्र हो ।
‘छड्के’बाट विजयले नेपाली चलचित्रमा काम गर्न सुरु गरेका थिए । छड्केले उनलाई पहिचान दिन सकेन । कारण उनको रोल र स्क्रिन टाइम नै त्यस्तै थियो ।
चलचित्रमा आफ्नो परिचय खोज्न उनले ‘कबड्डी’ नै कुर्नु पर्यो । यसअघि ६ वटा सिनेमामा काम गरे पनि त्यसले उनलाई पहिचान दिन सकेन ।
‘बिके’को रोलमा ‘कबड्डी’मा देखिएपछि भने उनलाई पहिचानको खडेरी टर्यो । उनलाई धेरैले चिन्न थाले । चलचित्रमा कामको अभाव हुन छाड्यो ।
चलचित्रमा व्यस्त त हुन थाले । तर अरुलाई बुस्ट गर्ने क्यारेक्टरमै उनी सीमित भए ।
‘कबड्डी’का सिरिजमा उनले ३२ सिन पाएका थिए । यो सिरिजका चारवटा चलचित्र बन्दा यसमा सबैभन्दा धेरै ४५ सिनसम्म पाए ।
सहायक भूमिकामा उनले सबैभन्दा धेरै सिन पाएको चलचित्र ‘ह्यारी कि प्यारी’ हो । यसमा उनले ७१ सिन पाए । चलचित्रका सबैजसो दृश्यहरूमा उनले आफ्नो पात्रलाई प्रभावकारी ढंगले निभाएका छन्, जसका कारण चलचित्रले सफलता हात पार्न सफल भएको छ।
पहिलोपटक विजय ‘पूर्ण बहादुरको सारङ्गी’मार्फत हिरो भए । उनले यो चलचित्रमा १४० सिन अकुपाई गरे । १४० सिन पाउँदा उनले आफूलाई प्रमाणित पनि गरे । उनको तारिफसहित अहिले हलहरूमा यो सिनेमाले हाउसफूल अकुपेन्सीमा ब्यापार गरिरहेको छ ।