‘लण्डन टु पेरिस’ एभरग्रिन लभस्टोरी सिनेमा भएको घनश्यामको दाबी

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले आफूले लभस्टोरी जनरामा एभरग्रिन सिनेमा बनाएको बताएका छन् । स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा कलाकारसहित पुगेका निर्देशक लामिछानेले ‘लण्डन टु पेरिस’ एभरग्रिन सिनेमा बनेको दाबी गरेका हुन् ।

उनले लामो समयदेखि नेपाली चलचित्र उद्योगमा एभरग्रिन लभस्टोरीको खाँचो रहेको र त्यो आफूले पूरा गरेको बताए । “लामो समयदेखि लभस्टोरी सिनेमा मन पराउने दर्शकका लागि नेपालमा लभस्टोरी सिनेमा आइरहेका थिएनन्,” निर्देशक लामिछानेले भने, “युवाले खोजेजस्तै लभस्टोरी सिनेमा बनाउँ भन्नेथियो । त्यसैले लण्डन टु पेरिस लभस्टोरी जनराका लागि एभरग्रिन स्टोरी हो । एभरग्रिन लभस्टोरी सिनेमा हो ।”

आफूले नयाँ कलाकारमार्फत कथा भन्ने प्रयास गरेको बताए । नयाँ कलाकारलाई अवसर दिँदै काम गरेको बताएका उनले आफ्ना लागि पनि नयाँ कलाकारसँग काम गर्न पाउनु अवसर भएको बताए ।

निर्देशक लामिछाने गाउँको कथापछि आफूले यो पटक दर्शकलाई नेपाली डायस्पोराको कथा देखाउने बताए । उनले ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु नेपाली परिवेशकै रहेको बताए ।

“लण्डन टु पेरिस हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो । हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो”, घनश्याम भन्छन्, “मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो सिनेमा बनाएका हौं । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु ।”

डायस्पोराको कथा यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा ‘लण्डन टु पेरिस’मार्फत उनले देखाउन लागेका हुन् । आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने लण्डनमा छायांकन गरेका छन् ।

घनश्याम सिनेमा हेरिरहँदा दर्शकले कथाबाहिर गएजस्तो नलाग्ने बताउँछन् । “सिनेमाका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । सिनेमा अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका सिनेमा हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ”, घनश्याम भन्छन् ।

उनले सिनेमाको कथालाई सिनेमाका ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । “सिनेमाको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्छ । हामीले सिनेमाको कथाभन्दा पर गएर खिचेका छैनौँ । जे चाहिने हो त्यही खिचेका छौं,” उनले भने ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यु गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।