‘कल्ली’बाट उत्तम प्रधानको कमब्याक

काठमाडौं । चलचित्र ‘कल्ली’मा कलाकारहरूको बलियो लाइनअप बन्दै गएको छ । यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालसँगै यस सिनेमामा अब अनुभवी अभिनेता उत्तम प्रधान पनि जोडिएका छन् ।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रबाट प्रधानले लामो समयपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन गर्दैछन् ।

हालै अभिनेत्री निरुता सिंहसँग म्युजिक भिडियोमा देखा परेका प्रधानको अन्तिम रिलिज सिनेमा ‘इशारा’ २०१२ मा प्रदर्शन भएको थियो । यसबीचमा उनले आफ्नो निर्देशनमा ‘दर्पण छायाँ’कै कास्ट लिएर ‘दर्पण छायाँपछि’ बनाउन चाहेका थिए, तर यो परियोजना पूरा हुन सकेन ।

निर्देशक तुलसी घिमिरेको ‘दर्पणछाँया’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका उत्तम प्रधान पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि उनी नेपाली फिल्म क्षेत्रमा खासै सक्रिय रहेनन् ।

‘कल्ली’का निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर प्रधानलाई ‘कल्ली’मा अनुबन्धित गरेका हुन् ।

अनुबन्धित भएसँगै उत्तमले लामो समयपछि नेपाली चलचित्रमा फर्किन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् ।

कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन गरिने ‘कल्ली’मा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । चलचित्र आगामी नयाँ वर्ष २०८२ को अवसरमा चैत्र २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।