ओटीटीमा ‘बेहुली फ्रम मेघौली’को सफलता : १० दिनमै १९ हजार दर्शक, ७६ लाख कलेक्सन
काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा रिलिज भएको १० दिनमा १९ हजारभन्दा धेरै दर्शकले हेरेका छन् ।
यो भ्यूजअनुसार चलचित्रले ७६ लाख रुपैयाँभन्दा धेरै कमाइ गरेको छ । मंगलबार बेलुका निर्माता तथा अभिनेता निश्चल बस्नेतले ओटीटी भ्यूजको तथ्यांक सार्वजनिक गरेका हुन् ।
साजन काफ्ले र आकाश बराल निर्देशित यो चलचित्र एमएसएम भिडियो नामक ओटीटी प्लेटफर्ममा रिलिज भएको हो । दर्शकले निश्चित शुल्क तिरेर चलचित्र हेर्न सक्ने व्यवस्था गरिएको छ । एक दिनको लागि २९८.२० रुपैयाँ र एक साताको लागि ४२० रुपैयाँमा चलचित्र हेर्न सकिन्छ।
निर्माता बस्नेतले यसअघि हलमा फिल्मलाई पर्याप्त शो नदिएको गुनासो गर्दै ओटीटीलाई विकल्पको रुपमा प्रस्तुत गरेका थिए । हलमा रिलिज भएको समयमा समेत यो चलचित्रले राम्रै कमाइ गरेको थियो, तर बस्नेतले आफ्नो सिनेमालाई दर्शकसामु अझै बढी पुर्याउन ओटीटी प्लेटफर्म प्रयोग गरेका हुन् ।
याे प्रयासले नेपाली सिनेमा क्षेत्रमा वैकल्पिक प्लेटफर्मको आवश्यकता र यसको सम्भावनालाई थप मजवुत बनाएको देखिन्छ ।