एक्सन र प्रेममा केन्द्रित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा एक्सन, प्रेम, बिछोड र संघर्ष देख्न सकिन्छ । नीता र हरिहरको प्रेम, त्यसमा देखिएको अवरोध र त्यसलाई छिचोल्न गरेको संघर्ष र एक्सनमा चलचित्रको ट्रेलर केन्द्रित छ ।
सार्वजनिक ट्रेलरले सिनेमाको कथा रिबिल गरेको छैन । तर प्रेम, धर्म तथा त्यसको कठोर नियम र अनुशासनको पेरिफेरीमा लभस्टोरी नै सिनेमाको कथा रहेको अनुमान भने लगाउन सकिन्छ ।
ट्रेलरमा सिनेमाका अधिकांश कलाकार अटाएका छन् । नेपाल र साउथका प्रमुख भूमिकामा रहेका सबै कलाकारले ट्रेलरमा राम्रो स्थान पाएका छन् ।
‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापालगायत कलाकारको अभिनय छ । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्माले अभिनय गरेका छन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
चलचित्र कात्तिक ३० गते रिलिज हुनेछ ।